कांग्रेस महाधिवेशन : सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीको मतगणना जारी
विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित, उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
वि.सं.२०८३ असोज २५ आइतवार ०७:१८
shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको अन्तिम मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिको विवरणअनुसार सभापति पदमा गणना भएका ७ हजार १३ मतमध्ये ६ हजार ९५९ मत सदर भएका छन् भने ५४ मत बदर भएका छन्। थापाले सदर मतको ९४.६ प्रतिशत अर्थात् ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत प्राप्त गरेका छन्।सभापति पदको अन्तिम परिणाम सार्वजनिक भइसके पनि अन्य पदाधिकारीको मतगणना जारी छ। पछिल्लो विवरणअनुसार १ हजार २२९ मतपत्र गणना हुँदा पाँच मत बदर भएका छन् भने १ हजार २२४ मत सदर भएका छन्। तीनवटा बुथमा मतगणना भइरहेको छ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश र महिलातर्फ पुष्पा निर्विरोध
कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, उपसभापतिको महिलातर्फ पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छन्।
उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि
उपसभापतिको खुलातर्फ दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारीले ६४३ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। ई. मधु आचार्य ३६२ मतसहित दोस्रो स्थानमा छन्।अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा. डा. चन्द्रमोहन यादवले १२९ मत प्राप्त गरेका छन्।उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरी ३५७ मतसहित अगाडि छन्। जीवन परियारले ३००, फरमुल्लाह मंसुरले १७७, सीता गुरुङले १५७ र रञ्जित कर्णले १०० मत प्राप्त गरेका छन्।
महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
महामन्त्रीको खुलातर्फ दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा प्रदीप पौडेल ७२३ मतसहित पहिलो स्थानमा छन्। अमरसिंह पुन मगरले ४५५ मत प्राप्त गरेका छन् भने उदयशमशेर राणा ४१२ मतसहित तेस्रो स्थानमा छन्।त्यस्तै, डा. सुनिलकुमार शर्माले ३०९, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन्।महामन्त्रीको महिलातर्फ डा. डिला संग्रौला (पन्त) ५३६ मतसहित अगाडि रहेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ५१३ मत प्राप्त गर्दा रीता खनालले १४७ मत पाएकी छन्।
अन्य पदाधिकारीको मतगणना जारी रहेकाले उम्मेदवारहरूको मत सङ्ख्या परिवर्तन हुन सक्नेछ। निर्वाचन समितिले अन्तिम परिणाम सार्वजनिक गरेपछि मात्रै बाँकी पदका विजेताको टुंगो लाग्नेछ।















