काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

छठपर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

जनकपुरसहित मिथिला र तराई क्षेत्रमा छठको रौनक, व्रतालुले आज पवित्र स्नान गरी व्रत सङ्कल्प गर्दै

2.64K
shares

जनकपुर । आस्था, निष्ठा र भक्तिको पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ विधि गर्दैछन् ।

यस अवसरमा व्रतालुले पोखरी, नदी तथा अन्य जलाशयमा पवित्र स्नान गरी व्रतको सङ्कल्प गर्ने र शुद्ध एवं सात्त्विक भोजन ग्रहण गर्ने परम्परा छ । मिथिला क्षेत्रमा यस विधिलाई ‘नहाय–खाय’ भनिन्छ ।

छठको पहिलो दिन नहाय–खाय विधि सम्पन्न गरेका व्रतालुले भोलि दिनभरि निराहार व्रत बस्नेछन् । साँझ सख्खरमा पकाइएको अरवा चामलको खिर कुलदेवता र छठीदेवीलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्नेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।

मिथिला क्षेत्रमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।

मिथिला र तराई क्षेत्रको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छठ पछिल्लो समय राष्ट्रिय पर्वका रूपमा स्थापित हुँदै गएको छ । पहाड र मधेसबीचको सांस्कृतिक घुलमिलसँगै छठ पर्वको लोकप्रियता देशभर विस्तार भएको छ ।

सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले धार्मिक आस्था, पारिवारिक सुख, समृद्धि, शुद्धता तथा सामाजिक एकताको सन्देश दिने विश्वास गरिन्छ । छठघाटमा सबै जातजाति र समुदायका मानिस एकै ठाउँमा भेला भएर पर्व मनाउने परम्पराले आपसी सद्भाव र सांस्कृतिक एकतालाई समेत बलियो बनाउँदै आएको छ ।

मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको छठ अहिले विभिन्न समुदायको साझा आस्था र संस्कृतिको पर्व बन्दै गएको छ ।