मलेसिया जाने कामदार ठगीको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
सरकारले तोकेकोभन्दा बढी १०० रिङ्गिट असुली गरेको आरोपमा सीआईबीद्वारा तत्कालीन मन्त्री, सचिव र उच्च अधिकारीहरू नियन्त्रणमा
वि.सं.२०८३ मंसिर ३ बिहीवार ०९:१६
shares

काठमाडौं । मलेसिया जाने नेपाली कामदारबाट सरकारले तोकेकोभन्दा बढी रकम असुली गरेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार मलेसिया जाने नेपाली कामदारबाट सरकारले तोकेको रकमभन्दा अतिरिक्त १०० रिङ्गिट उठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।
उनले सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम असुली भएको विषयमा अनुसन्धान गर्न सम्बन्धित निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
जबराले भने, ‘मलेसियामा कामदार पठाउने बेलामा जुन उठाउनुपर्नेभन्दा बाहेकको रकम उठायो भन्ने विषयमा अनुसन्धान हुँदैछ । कामदारबाट १०० रिङ्गिट अतिरिक्त उठाएको भन्ने छ, जुन सरकारले तोकेकोभन्दा बढी रकम हो । अहिले अनुसन्धानका लागि हामीले उहाँहरूलाई नियन्त्रणमा ल्याएका हौँ ।’
उनका अनुसार कामदारबाट अतिरिक्त रकम उठाउने निर्णय प्रक्रियामा पक्राउ परेका व्यक्तिहरूको संलग्नता देखिएकाले उनीहरूको भूमिकाबारे अनुसन्धान भइरहेको छ ।
सरकारले तोकेकोभन्दा बढी रकम असुली गर्ने निर्णय कसरी भयो, त्यसमा तत्कालीन मन्त्रीदेखि मन्त्रालयका उच्च अधिकारीसम्मको भूमिका के थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका सबै जना हाल सीआईबीको नियन्त्रणमा रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















