उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न
व्रतालुहरूले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै गरे पूजा–आराधना, कमलपोखरीसहित देशभरका जलाशयमा श्रद्धालुको घुइँचो
वि.सं.२०८३ कात्तिक ३० सोमवार १०:३१
shares
नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर परिसर ।
काठमाडौं । सूर्यदेवको उपासना, आस्था, श्रद्धा र भक्तिको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा–आराधना गरेका हुन् ।
छठ पर्वको अन्तिम दिन बिहानैदेखि काठमाडौंको कमलपोखरीमा व्रतालु तथा श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो । पर्व मनाउन व्रतालुहरू पूजाका सामग्रीसहित बिहानै पोखरी परिसर पुगेका थिए । उनीहरूले पोखरीको पवित्र जलमा उभिएर उदाउँदो सूर्यको प्रतीक्षा गर्दै विधिपूर्वक सूर्यदेवलाई अघ्र्य अर्पण गरेका थिए ।
सूर्यको पहिलो किरणसँगै व्रतालुहरूले जल, दूध तथा विभिन्न पूजासामग्री चढाउँदै सूर्यदेवको पूजा गरेका थिए । यस क्रममा परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै विशेष आराधना गरिएको थियो । छठ घाटमा श्रद्धालुहरूको उपस्थिति, भक्तिमय वातावरण र धार्मिक अनुष्ठानले कमलपोखरी क्षेत्र बिहानैदेखि उल्लासमय बनेको थियो ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नहाय–खाय विधि गरेका थिए । यस दिन पवित्र स्नान गरी चोखोनितो भोजन गरेर व्रतको सङ्कल्प गर्ने परम्परा छ । दोस्रो दिन अर्थात् खरनाका दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ विधिपूर्वक पूजा गरी प्रसाद ग्रहण गर्ने गर्छन् । खरनापछि सुरु हुने निर्जला व्रत छठको महत्वपूर्ण पक्ष मानिन्छ ।
पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरूले दिनभर निराहार तथा निर्जला उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा बनाइएका छठ घाटमा पुगेर व्रतालुहरूले बाँसका ढाकी, नाङ्लो तथा अन्य भाँडामा सजाइएका ठेकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायतका प्रसाद सूर्यदेवलाई चढाएका थिए ।
आज पर्वको चौथो तथा अन्तिम दिन बिहानै पुनः छठ घाटमा भेला भएर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरिएको हो । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै छठको मुख्य धार्मिक अनुष्ठान पूरा हुने धार्मिक मान्यता छ । बिहानको पूजा सम्पन्न भएपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्दै परिवारका सदस्य तथा आफन्तजनलाई प्रसाद वितरण गरेका थिए । यससँगै उनीहरूको कठोर व्रत पनि समापन भएको छ ।
छठ पर्वमा सूर्यदेवसँगै जल तथा प्रकृतिको पूजा गरिने भएकाले यसलाई प्रकृति र पर्यावरणप्रतिको सम्मानसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ । सूर्यलाई जीवन, ऊर्जा र सृष्टिको आधार मान्दै श्रद्धालुहरूले परिवारको कल्याण र सुखसमृद्धिका लागि पूजा गर्ने परम्परा रहिआएको छ ।

विशेषगरी तराई–मधेस क्षेत्रमा अत्यन्त श्रद्धा र उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न सहर तथा बस्तीमा पनि व्यापक रूपमा मनाउन थालिएको छ । राजधानीका कमलपोखरी, गौरीघाट, गुह्येश्वरी, वाग्मती नदी किनारलगायतका स्थानमा छठका अवसरमा विशेष घाट निर्माण गरी पूजा गर्ने गरिएको छ ।
छठ पर्वले धार्मिक आस्था र परम्परालाई निरन्तरता दिनुका साथै सामाजिक सद्भाव, पारिवारिक एकता र सामुदायिक सहकार्यलाई समेत बलियो बनाउँदै आएको छ । जाति, भाषा र समुदायको सीमाभन्दा माथि उठेर विभिन्न समुदायका मानिस सहभागी हुने यस पर्वले आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देशसमेत दिने गरेको छ ।
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै यस वर्षको चारदिने छठ पर्व सम्पन्न भएको छ ।




















