कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान, विभिन्न प्रदेश र समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र
वि.सं.२०८३ असोज २२ बिहीवार १०:०२
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्।
खुलामञ्चमा रहेको मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ।
त्यस्तै, खुलामञ्चमा रहेको हिमाली हलबाट गण्डकी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने मधेश प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन्।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।
निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।
अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। मतदान सकिएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
मतदान केन्द्र र प्रतिनिधि समूह
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’
– बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’
– कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाली हल
– गण्डकी प्रदेश
तराई–मधेस हल
– मधेश प्रदेश
पहाड हल
– लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि
मतदान सम्पन्न भएपछि मतगणना सुरु हुनेछ भने मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।















