कांग्रेस महाधिवेशनको मतदान सुरु, गण्डकीका शोभाकान्त बरालले खसाले पहिलो मत
७ हजार ३१७ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दै, दिउँसो ३ बजेसम्म मतदान हुने
वि.सं.२०८३ असोज २३ शुक्रवार ०९:२०
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन्।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा लागेका थिए। बिहीबार अपराह्नदेखि सुरु गर्ने भनिएको मतदान खराब मौसम, प्राविधिक समस्या र ढिलाइका कारण शुक्रबार बिहानका लागि सारिएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्रतिनिधिहरूले दिउँसो ३ बजेसम्म मतदान गर्न पाउनेछन्। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी हुँदैछन्।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझ मतदान सुरु गर्दा रातिको समयमा प्रतिनिधिहरूलाई कठिनाइ हुने भएकाले बिहानैदेखि मतदान सुरु गरिएको बताए।
उनका अनुसार मतपत्रको सङ्ख्या धेरै भएकाले ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरेका थिए। उम्मेदवार र मतदाताको सङ्ख्या धेरै हुँदा मतपत्र छपाइमा ढिलाइ भएको उनले बताए।
मतदान सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ। यस निर्वाचनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्।
















