बूढीगण्डकीमा भीषण बाढी, तल्लो तटीय बस्ती, होटल र विद्यालयमा क्षति
गोरखाको चुमनुब्री आसपास सुक्खा पहिरोले नदी थुनिएको आशंका, जगत र सल्लेरी क्षेत्रमा क्षति पुगेको खबर; मानवीय क्षतिको विवरण आउन बाँकी
वि.सं.२०८३ असोज २५ आइतवार ०९:३४
shares

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको छ ।उनले नदीमा पानीको बहाव पटकपटक थुनिने र खुल्ने भइरहेको जानकारी दिएका छन् । बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्र प्रभावित भएको उनले बताए ।
‘माथि सुक्खा पहिरो गयो र नदी थुनिएर बाढीको रूप लिएको भन्ने जानकारी आएको छ । नदी थुनिने र खुल्ने क्रम चलिरहेको छ । तल्लो तटीय क्षेत्रका बस्ती बगेको खबर आएको छ,’ सापकोटाले भने ।उनका अनुसार नदी किनारमा रहेका जगत, सल्लेरीलगायत तल्लो तटीय क्षेत्रका बस्ती तथा बजारमा क्षति पुगेको सूचना प्राप्त भएको छ । ती क्षेत्रमा सञ्चालित होटल तथा ट्रेकिङ एजेन्सीसँग सम्बन्धित होटलहरू बगाएको र केही विद्यालयसमेत बाढीले बगाएको खबर आएको उनले जानकारी दिए ।
बाढीबाट मानवीय क्षति भए–नभएकोबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन । क्षतिको वास्तविक विवरण संकलन गर्ने र प्रभावित क्षेत्रको अवस्था बुझ्ने काम भइरहेको सापकोटाले बताए ।नदीमा पानीको बहाव निरन्तर परिवर्तन भइरहेकाले तत्काल क्षतिको यकिन विवरण सार्वजनिक गर्न कठिन भएको उनको भनाइ छ । सम्बन्धित निकायबीच समन्वय गरेर अवस्थाबारे जानकारी संकलन भइरहेको छ ।बाढीको जोखिम कायमै रहेकाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारबाट टाढा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

















