नेपालगञ्ज उद्योग वाणिज्य संघमा चिरञ्जीवी ओलीको शानदार जित, नयाँ नेतृत्वको उदय
अध्यक्षमा १,३८६ मतसहित ओली निर्वाचित, महिला उपाध्यक्षमा रुपा ओझा विजयी; महासचिवदेखि कोषाध्यक्षसम्म नयाँ कार्यसमिति चयन
वि.सं.२०८३ भदौ ७ आइतवार १०:१३
shares

नेपालगञ्ज, ७ भदौ । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सकिएको छ। मतपरिणामअनुसार अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतान्तरसहित विजयी भएका छन्।
ओलीले १,३८६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी ध्रुव दाहाल ले ३७४ मत प्राप्त गरे। दुवैबीच १,०१२ मतको अन्तर रहँदा व्यवसायी समुदायले ओलीको नेतृत्वमा स्पष्ट जनमत दिएको देखिएको छ।महिला उपाध्यक्ष पदमा रुपा ओझा (सानु) विजयी भएकी छन्। उनले १,१६६ मत प्राप्त गर्दा प्रतिस्पर्धी उमा ग्राण्डन ले ५०३ मत प्राप्त गरिन्। ओझाले ६६३ मतको अन्तर ले जित निकाल्दै संघमा महिला नेतृत्वको सशक्त उपस्थिति स्थापित गरेकी छन्।
मतगणनाअनुसार महासचिव पदमा विष्णु श्रेष्ठ निकै फराकिलो मतान्तरसहित विजयी भएका छन्। यस्तै, उपमहासचिवमा प्रदीप आचार्य तथा कोषाध्यक्षमा टीकामणि उपाध्याय निर्वाचित भएका छन्।निर्वाचन समितिले बाँकी सदस्य पदहरूको आधिकारिक मतपरिणाम क्रमशः सार्वजनिक गर्ने जनाएको छ।
नवनिर्वाचित नेतृत्वसँग नेपालगञ्जका उद्योगी व्यवसायीले बजार प्रवर्द्धन, लगानीमैत्री वातावरण, सीमावर्ती व्यापार सहजता तथा स्थानीय उद्योगको संरक्षणका विषयमा ठूला अपेक्षा राखेका छन्। अध्यक्षमा निर्वाचित चिरञ्जीवी ओलीले निर्वाचनपछि व्यवसायीको साझा हितलाई केन्द्रमा राखेर सबै पक्षसँग सहकार्य गर्दै संघलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



















