होर्मुज जलडमरूमध्यमा नियन्त्रणको दाबी–प्रतिदाबी, अमेरिका र इरानबीच नयाँ शब्दयुद्ध
ट्रम्पको ‘पूर्ण नियन्त्रण’ दाबीलाई इरानको कडा प्रतिवाद, तेहरान भन्छ– अनुमति बिना कुनै जहाज सुरक्षित रूपमा पार गर्न सक्दैन
वि.सं.२०८३ साउन २९ शुक्रवार १४:०७
shares
फाइल तस्वीर
काठमाडौं | एजेन्सी, विश्वकै सबैभन्दा संवेदनशील समुद्री मार्ग मानिने होर्मुज जलडमरूमध्य लाई लिएर अमेरिका र इरानबीच फेरि तीव्र शब्दयुद्ध सुरु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिकाले उक्त जलडमरूमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेपछि इरानले त्यसलाई अस्वीकार गर्दै वास्तविक नियन्त्रण आफ्नै हातमा रहेको जनाएको हो।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्ची ले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले ‘नक्कली गुप्तचर सूचना’ का आधारमा गलत निष्कर्ष निकालिरहेको आरोप लगाए। उनले विगतमा इरानविरुद्धको युद्धसम्बन्धी अमेरिकी आकलन पनि यस्तै त्रुटिपूर्ण रहेको उल्लेख गर्दै होर्मुजबारे पुनः गल्ती नगर्न वासिङ्टनलाई चेतावनी दिए।यसअघि ट्रम्पले अमेरिकाले जलडमरूमाथि पूर्ण नियन्त्रण स्थापित गरिसकेको दाबी सार्वजनिक गरेका थिए।
होर्मुज क्षेत्रमा समुद्री यातायात व्यवस्थापन गर्ने इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटी ले जलडमरूमध्य खुलिसकेको भन्ने अमेरिकी भनाइ अस्वीकार गरेको छ।निकायका अनुसार, होर्मुज अझै पनि इरानको नियन्त्रणमा छ र तेहरानका सर्तहरू पूरा नभएसम्म यसको सञ्चालन पूर्ण रूपमा सामान्य हुने छैन।इरानको खातम अल अन्बिया केन्द्रीय मुख्यालय ले कुनै पनि व्यापारिक जहाज वा तेल ट्याङ्करले इरानी सशस्त्र सेनाको अनुमति र निगरानीबिना सुरक्षित रूपमा जलडमरूमध्य पार गर्न नसक्ने जनाएको छ।इरानी सञ्चारमाध्यमले प्रसारण गरेको भिडियो सन्देशमा मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारी ले अमेरिकी दाबीलाई ‘झुटो र सरासर असत्य’ भन्दै खारेज गरे। उनका अनुसार होर्मुजको सुरक्षा, निगरानी र व्यवस्थापन पूर्ण रूपमा इरानी सेनाको नियन्त्रणमा छ।
उनले अमेरिका र इजरायलका सबै समुद्री गतिविधिमाथि इरानले निरन्तर निगरानी गरिरहेको दाबी गर्दै राष्ट्रिय सार्वभौमिकतामाथि खतरा आए तत्काल प्रतिकार गरिने चेतावनी पनि दिए।इरानले गत फेब्रुअरी २८ देखि होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो। अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि तेहरानले उनीहरूसँग सम्बन्धित वा आबद्ध जहाजहरूको आवतजावतमा कडा प्रतिबन्ध लगाएको जनाएको छ।होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हो, जहाँबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल अन्तर्राष्ट्रिय बजारतर्फ ओसारिन्छ। त्यसैले यहाँको तनावले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना रहन्छ।


















