पत्नी ममता काफ्लेको शव टुक्रा पारेको नरेश भट्टको अदालतमा बयान
शयनकक्षमा पत्नीको शव फेला पारेपछि टुक्रा पारेको स्वीकारोक्ति, शव अझै फेला परेको छैन
वि.सं.२०८३ कात्तिक २० शुक्रवार ०७:३१
shares

अमेरिका । अमेरिकाको भर्जिनियामा पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका नेपाली मूलका नरेश भट्टले पत्नीको शव टुक्रा पारेको अदालतमा बयान दिएका छन् । सन् २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुइँमा पत्नीको निष्प्राण शरीर फेला पारेपछि आफूले शव टुक्रा पारेको उनले अदालतमा बताएका हुन् ।
बिहीबार अदालतमा बयान दिँदै भट्टले ममताको अनुहार र भुइँमा बान्ता देखेको बताएका छन् । उनका अनुसार बान्तामा रगत, खानाका टुक्रा, औषधिका क्याप्सुल र कृषि क्षेत्रमा कीटनाशकका रूपमा प्रयोग हुने शक्तिशाली रसायन ‘सेल्फोस’को संकेत देखिएको थियो ।
भट्टले पत्नीलाई छोएर बोलाउने प्रयास गरेको, सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरेको तथा अन्य जीवनरक्षक उपाय अपनाएको दाबी गरेका छन् । ती प्रयास सफल नभएपछि आफूले शव टुक्रा पार्न थालेको र सुरुमा खुट्टा अलग गर्ने प्रयास गरेको उनको बयान छ ।
उनका अनुसार शवलाई बाथरुममा सारेपछि शारीरिक शक्ति नपुगेका कारण पहिलो दिन नै शव टुक्रा पार्ने काम रोक्नुपरेको थियो । त्यसपछि उनले बेडरुमको ढोका बच्चाका सामान राख्ने स्टेसनले छेकेर छोरीलाई लिन, खाना खुवाउन र सुताउन गएको बताएका छन् ।
त्यस रात आफू सुत्न नसकेको र डरका कारण परिवारले पूजा गर्ने कोठामा समेत जान नसकेको भट्टले अदालतमा बयान दिएका छन् ।
भट्टमाथि हत्या, शव लुकाएको र शव अपवित्र बनाएको अभियोग लागेको छ । तर, ममताको शव अहिलेसम्म फेला परेको छैन । सन् २०२४ अगस्टमा पक्राउ परेदेखि उनी हिरासतमै छन् ।
ममता यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । उनी नियमित काममा उपस्थित नभएपछि उनको अवस्थाबारे अनुसन्धान सुरु भएको थियो । सुरुमा भट्टले आफूले पत्नीलाई अन्तिमपटक जुलाई २९ मा देखेको र उनी हराएको भन्ने आफूलाई विश्वास नभएको बताएका थिए ।
ममताका परिवार र साथीहरूले भने उनले आफ्नी छोरीलाई छाडेर जाने सम्भावना नरहेको बताएका थिए । भट्टले अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानकर्ताहरूसँग उनले ममताले घर छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको कुरा गरेको बताएका थिए ।
यसैबीच, अनुसन्धानका क्रममा अगस्ट २२ मा प्रहरीले भट्टलाई पक्राउ गरेको थियो । दम्पतीको मुख्य शयनकक्ष र बाथरुममा रगतका दाग फेला परेपछि अनुसन्धान थप अघि बढाइएको थियो ।
अदालतमा भट्टले दिएको बयान मुद्दाको सुनुवाइका क्रममा प्रस्तुत भएको उनको दाबी हो । उनीमाथि लागेको अभियोगको अन्तिम न्यायिक निरूपण भने अदालतको फैसलाबाट हुनेछ ।



















