काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा कायम
वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्ने अवस्था हटेपछि थपिएको १०५ रुपैयाँ ३८ पैसा शुल्क फिर्ता
वि.सं.२०८३ असोज २ शुक्रवार ०९:२३
shares

काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको बिक्री मूल्य पुनः प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्ने अवस्था अन्त्य भएसँगै थपिएको ढुवानी शुल्क हटाएर पुरानै मूल्यमा बिक्री गर्न उद्योगीहरूलाई निर्देशन दिएको हो ।
संघका अनुसार पृथ्वी राजमार्गको अवरुद्ध खण्डमा वैकल्पिक ट्रयाक सञ्चालनमा आएपछि ग्यास बुलेटहरू सिधै काठमाडौं उपत्यका आउन थालेका छन् । यससँगै लामो दूरीको वैकल्पिक मार्ग प्रयोग गर्दा लाग्दै आएको अतिरिक्त ढुवानी खर्च हटाइएको हो ।गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो । सडक सञ्चालनमा समस्या आएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषालगायतका स्थानमा रहेका प्लान्टबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ग्यास ढुवानी गर्दै आएका थिए ।
वैकल्पिक सडक प्रयोग गर्दा ढुवानी खर्च बढेपछि नेपाल एलपी ग्यास उद्योग संघले भदौ १८ गते विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले निर्धारण गरेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त ढुवानी भाडा थप गर्न अनुरोध गरेको थियो । त्यसअनुसार केही समय उपत्यकामा प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसासम्म बिक्री गर्न भनिएको थियो ।तर, हाल पृथ्वी राजमार्गको अवरुद्ध क्षेत्रमा वैकल्पिक ट्रयाक खुलेर यातायात सञ्चालनमा आइसकेको र ग्यास बुलेटहरू नियमित रूपमा काठमाडौं भित्रिन थालेकाले अतिरिक्त ढुवानी शुल्क आवश्यक नरहेको संघले जनाएको छ ।
संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा असोज २ गतेदेखि लागू हुने गरी नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नहुने गरी एलपी ग्यास बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिइएको छ ।साथै, संघले आफ्ना सबै उद्योगीहरूलाई सोहीअनुसार आ–आफ्ना ग्यास विक्रेताहरूलाई जानकारी गराउन आग्रह गरेको छ ।
















