अमेरिकाले प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी
इरानका सुरक्षा परिषद् सचिव मोहसेन रेजाइको दाबी— आर्थिक नाकाबन्दी नहटाएसम्म रणनीतिक जलमार्ग बन्द रहने, अमेरिकाले भने दैनिक २ करोड ब्यारेल ऊर्जा आपूर्ति जारी रहेको बतायो।
वि.सं.२०८३ भदौ ७ आइतवार ०९:०८
shares

काठमाडौं, ७ भदौ । अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म विश्वकै सबैभन्दा रणनीतिक समुद्री मार्गमध्ये एक मानिने होर्मुज जलमार्ग नखुल्ने इरानले चेतावनी दिएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (SNSC) का सचिव मोहसेन रेजाइ ले शनिबार सरकारी प्रसारक आईआरआईबी लाई दिएको अन्तर्वार्तामा अमेरिकाले जलमार्ग खुला रहेको दाबी गरे पनि वास्तविक अवस्था त्यस्तो नभएको बताएका हुन्। उनले अमेरिकाले आफ्नो व्यवहार सच्याएर पूर्वप्रतिबद्धता पूरा गरेपछि मात्रै उक्त जलमार्ग सञ्चालनमा आउने स्पष्ट पारे। रेजाइका अनुसार अमेरिकाले सैन्य माध्यमबाट अपेक्षित सफलता हासिल गर्न नसकेपछि अहिले आर्थिक नाकाबन्दीमार्फत इरानमाथि दबाब सिर्जना गर्न खोजिरहेको छ।उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई केही महिनाको कडा आर्थिक नाकाबन्दीले इरानलाई झुकाउन सकिने सुझाव दिएको आरोपसमेत लगाए।
रेजाइले इरानले वर्षौंदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने वैकल्पिक संयन्त्र विकास गरिसकेको दाबी गरे। उनका अनुसार बाह्य दबाबका बाबजुद इरानले तेल निर्यातलाई निरन्तरता दिने क्षमता कायम राखेको छ।उनले पश्चिम एसियामा युद्ध अन्त्य चाहने आफ्नो देशले शान्तिको पक्षमा रहे पनि राष्ट्रिय सुरक्षामा कुनै सम्झौता नगर्ने र आवश्यक परे आत्मरक्षा जारी राख्ने चेतावनी दिए।
रेजाइले होर्मुज जलमार्गको व्यवस्थापनमा इरानको निर्णायक भूमिका रहेको दाबी गर्दै फारसी खाडीको आधाभन्दा बढी तट इरानसँग जोडिएको उल्लेख गरे। त्यसैले क्षेत्रीय सुरक्षा र जलमार्ग सञ्चालनमा इरानको भूमिका अनिवार्य रहेको उनको भनाइ छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध ‘इकोनोमिक डी–डे’ अभियान घोषणा गरेका थिए। उक्त अभियानअन्तर्गत तेल तस्करी सञ्जाल, वित्तीय कारोबार, विनिमय गृह, जहाज दर्ता प्रणाली र आवरण कम्पनीहरूलाई लक्षित गर्दै कडा आर्थिक कारबाही गरिने अमेरिकी प्रशासनले जनाएको थियो।
ट्रम्पले होर्मुज जलमार्गलाई ‘अमेरिकी नियन्त्रणमा रहेको क्षेत्र’ भन्दै त्यहाँ पूर्ण सुरक्षा नियन्त्रण कायम रहेको दाबी गरेका थिए।अमेरिकी दाबीलाई इरानले पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी उपविदेशमन्त्री काजेम घारिबाबादी ले अमेरिकाको भनाइलाई “परिस्थितिले वा इरानले नै सच्याउने” प्रतिक्रिया दिएका छन्।त्यस्तै, संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफ ले १४ बुँदे समझदारीअनुसार अमेरिकाले आर्थिक नाकाबन्दी हटाउने, रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने र तेलमाथिका प्रतिबन्ध खुकुलो नबनाएसम्म होर्मुज जलमार्ग नखुल्ने स्पष्ट पारे।
यता अमेरिकी ऊर्जा सचिव क्रिस राइट ले अमेरिकी नौसेनाको सुरक्षामा मंगलबार मात्रै होर्मुज जलमार्गबाट १ करोड ५० लाख ब्यारेलभन्दा बढी तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार भएको दाबी गरेका छन्।उनका अनुसार पाइपलाइनमार्फत हुने ढुवानीसमेत जोड्दा फारसी खाडी क्षेत्रबाट दैनिक करिब २ करोड ब्यारेल ऊर्जा आपूर्ति विश्व बजारमा पुगिरहेको छ।


















