मुस्ताङमै रोकिए रोकिए २ हजार ५०० बढी विद्युतीय गाडी, गन्तव्यमा पुग्न सडक बाधक
बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि कोरलानाकाबाट भित्रिएका ईभी मुस्ताङमै थन्किए, सडक सञ्चालन भए पनि अवस्था सहज छैन
वि.सं.२०८३ असोज २९ बिहीवार ०८:१०
shares

काठमाडौं । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनसँगको उत्तरी कोरलानाकाबाट नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) मुस्ताङमै रोकिएका छन्। सडक सञ्चालनमा आए पनि अवस्था सहज नहुँदा ती सवारीसाधन गन्तव्यसम्म पुर्याउन समस्या भएको हो।
गत असोज ११ गतेको भारी वर्षापछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक शुक्रबार साँझदेखि सञ्चालनमा आएको थियो। तर, सडकको अवस्था अझै नाजुक रहेकाले कोरलानाकाबाट भित्रिएका विद्युतीय गाडी गन्तव्यतर्फ पठाउन नसकिएको सम्बन्धित प्रतिनिधिहरूले बताएका छन्।नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) का अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा २ हजारभन्दा बढी विद्युतीय सवारीसाधन पार्किङ गरेर राखिएका छन्।
कोरलास्थित बीओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका २ हजारभन्दा बढी र भन्सार यार्डमा २०० भन्दा बढी विद्युतीय गाडी रोकिएका छन्।त्यसैगरी, कोरलानाकाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब ५०० भन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमका दुईवटा पार्किङस्थलमा राखिएका छन्।
बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि कोरलानाकाबाट भित्रिएका बीवाईडी कम्पनीका २ हजारभन्दा बढी गाडी मुस्ताङमै रोकिएको साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए। उनका अनुसार सडक सञ्चालनमा आए पनि साना गाडीसमेत सहज रूपमा गन्तव्यतर्फ पठाउन समस्या भइरहेको छ।कोरलानाकाबाट भित्रिएका विद्युतीय गाडी गन्तव्यतर्फ पठाउन आएका बुढाथोकीले जोमसोम बसपार्क र भन्सार कार्यालयको पार्किङस्थलमा ती गाडी राखिएको बताए।
उनका अनुसार असोज ११ गतेअघि बीवाईडी कम्पनीका करिब ४५० वटा गाडी गन्तव्यतर्फ पठाइसकिएको थियो। त्यसपछि भित्रिएका गाडी भने बेनी–जोमसोम सडकको अवस्थाका कारण पठाउन नसकिएको हो।रसुवा र तातोपानी नाका बन्द भएपछि साइमेक्स इङ्कले कोरलानाकाबाट ३ हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्र्याउने योजना बनाएको पनि बुढाथोकीले जानकारी दिए।
यसैबीच, कोरलानाकाबाट आयात गरिएका मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर सोमबारसम्म मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ।प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार जिल्लामा रोकिएका कन्टेनर बाहिरिएसँगै मालवस्तु ढुवानीका लागि केही खाली कन्टेनर कोरलानाकातर्फ उकालो लागेका छन्।















