काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली करिडोरका क्षतिग्रस्त पुल मर्मत गर्न साढे पाँच करोड रुपैयाँ खर्च

715
shares

काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । ती पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ ।

पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मतपछि सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए ।उनका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटामा लट्ठा बटारिने, डेक तथा बिम बगाउने र साइडको जाली बगाउनेलगायतका क्षति पुगेको थियो । बाँकी सातवटा पुलमा भने सामान्य क्षति पुगेको थियो ।

बढी क्षति पुगेका ११ वटा पुलमा बटारिएका लट्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने, नयाँ स्टिल डेक तथा बिम जडान गर्ने र साइडको जाली राख्नेलगायतका काम गरी मर्मत गरिएको बुढाथोकीले बताए । बाँकी सातवटा पुलमा सामान्य मर्मत गरेर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

बृहत् मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ र तारकेश्वर गाउँपालिका–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, बेलकोटगढी नगरपालिका–५ र धादिङको गल्छी गाउँपालिका–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुल तथा बेलकोटगढी नगरपालिका–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुङ्गे पुल रहेका छन् ।

त्यसैगरी, धादिङको सिद्धलेक गाउँपालिका–३ र बेनीघाट रोराङ गाउँपालिका–३ जोड्ने झोलुङ्गे पुल, नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थित केउरेनी गहते र धादिङको गल्छी गाउँपालिका–१ जोड्ने पुल तथा सिद्धलेक गाउँपालिका–६ र गजुरी गाउँपालिका–१ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको छ ।

धादिङको गल्छी गाउँपालिका–१ र वडा नं. ६ जोड्ने महेशदोभान मास्टार झोलुङ्गे पुल, गल्छी–१ र वडा नं. ४ जोड्ने पुल, गल्छी–२ र वडा नं. ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुङ्गे पुल तथा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ र धादिङको गल्छी गाउँपालिका–२ जोड्ने कोल्पु कल्लेरीघाट पुलको समेत बृहत् मर्मत गरिएको कार्यालयले जनाएको छ ।गोरखाको गण्डकी गाउँपालिका–७ र धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको छ ।

सामान्य मर्मत गरिएका पुलमा गोरखाको गण्डकी गाउँपालिका–८ र धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ जोड्ने बादरे झोलुङ्गे पुल, धादिङको सिद्धलेक गाउँपालिका–६ र गजुरी गाउँपालिका–२ जोड्ने बिहानी पम्प झोलुङ्गे पुल तथा सिद्धलेक गाउँपालिका–५ र बेनीघाट रोराङ गाउँपालिका–३ जोड्ने मलेखु झोलुङ्गे पुल रहेका छन् ।

त्यस्तै, धादिङको गल्छी गाउँपालिका–२ र वडा नं. ४ जोड्ने बेल्खु भुतिया झोलुङ्गे पुल, गोरखाको सहिद लखन गाउँपालिका–४ र चितवनको इच्छाकामना गाउँपालिका–४ जोड्ने कुरिनटार (लेवाटार) झोलुङ्गे पुल, धादिङको गल्छी गाउँपालिका–२ र वडा नं. ४ जोड्ने महादेवस्थान झोलुङ्गे पुल तथा गोरखाको गण्डकी गाउँपालिका–६ र चितवनको इच्छाकामना गाउँपालिका–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुलको सामान्य मर्मत गरिएको कार्यालयले जनाएको छ ।

बाढीबाट क्षति पुगेका सबै पुल सञ्चालनमा आएसँगै सम्बन्धित क्षेत्रका स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।