काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नाइमा मोबिलिटी एक्स्पोमा ईभीको दबदबा, करिब ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

५५ ब्रान्डको सहभागिता, नयाँ प्रविधिदेखि स्मार्ट मोबिलिटीसम्म एउटै प्लेटफर्ममा। डिजिटल टिकट, पार्किङ र फाइनान्स सुविधासहित एक्स्पोको विशेष तयारी।

858
shares

काठमाडौं,२० साउन। नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी)प्रतिको आकर्षण तीव्र रूपमा बढिरहेका बेला आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा ईभी र नयाँ मोबिलिटी प्रविधिको दबदबा रहने भएको छ।

आयोजकका अनुसार नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित एक्स्पो वि.सं. २०८३ साउन २६ देखि ३१ गते (सन् २०२६ अगस्ट ११ देखि १६ तारिख) सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।एक्स्पोमा सहभागी ५५ वटा ब्रान्डमध्ये अधिकांशले विद्युतीय सवारी तथा भविष्यका मोबिलिटी प्रविधिलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन्। एक्स्पोमा ५२ वटा स्टलमार्फत ५५ ब्रान्ड सहभागी हुनेछन् भने करिब ४० वटा नयाँ उत्पादन सार्वजनिक गरिनेछ।

नाइमा मोबिलिटी एक्स्पोका प्लानिङ कमिटी सदस्य शिशिरकुमार मुरारकाका अनुसार यसपटक नयाँ मोडल र अत्याधुनिक प्रविधि एक्स्पोको मुख्य आकर्षण हुनेछन्।यो पटक नयाँ लन्च नै एक्स्पोको मुख्य आकर्षण हुनेछ। ग्राहकले नयाँ प्रविधि, नयाँ मोडल र भविष्यमा आउने सवारी प्रविधि एउटै प्लेटफर्मबाट अवलोकन गर्न पाउनेछन्, मुरारकाले बताए।उनले नेपालमा ईभी बजार तीव्र गतिमा विस्तार भइरहेका बेला एक्स्पोले विद्युतीय सवारी, चार्जिङ प्रविधि, नयाँ डिजाइन तथा स्मार्ट मोबिलिटी समाधानबारे उपभोक्तालाई जानकारी दिने बताए। मुरारकाका अनुसार एक्स्पोमा नेपालमा बिक्री भइरहेका मोडल मात्र नभई भविष्यमा बजारमा आउन सक्ने अवधारणाका सवारीसमेत प्रदर्शन गरिनेछ।

कतिपय ब्रान्डले भविष्यका प्रविधि देखाउन नयाँ अवधारणाका सवारी ल्याउँदैछन्। चीन र भारतमा विकास भइरहेका ईभी तथा अन्य प्रविधि नेपाली ग्राहकले प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्, उनले भने।उनका अनुसार केही ब्रान्डले लेफ्ट ह्यान्ड ड्राइभ मोडलसमेत प्रदर्शन गर्ने तयारी गरेका छन्, जसले भविष्यमा नेपालमा भित्रिन सक्ने प्रविधिको संकेत गर्नेछ।मुरारकाले एक्स्पोले नयाँ सवारी बिक्री मात्र नभई समग्र अटोमोबाइल बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले दशैं तिहारजस्ता चाडपर्वको समयमा सवारी खरिद गर्ने नेपाली उपभोक्ताको परम्परालाई लक्षित गर्दै एउटै स्थानमा सबै ब्रान्डका अफर, प्रविधि, फाइनान्स र सेवाबारे जानकारी पाउने सुविधा उपलब्ध गराइएको बताए।एक्स्पोमा बैंक, बीमा कम्पनी तथा एक्सचेन्ज पार्टनरहरूको पनि सहभागिता रहनेछ। यसबाट ग्राहकले सवारी फाइनान्स, बीमा तथा पुरानो सवारी साट्ने (एक्सचेन्ज) सुविधा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।हाल बैंकिङ प्रणालीमा ब्याजदर तुलनात्मक रूपमा कम रहेकाले सवारी खरिदका लागि अनुकूल समय रहेको मुरारकाले बताए।अहिले ब्याजदर सस्तो छ। त्यसैले ग्राहकको आर्थिक भार कम हुने भएकाले गाडी खरिदका लागि यो उपयुक्त समय हो,उनले भने।नेपालमा ईभीको संख्या बढेसँगै सर्भिस सेन्टर र स्पेयर पार्ट्स व्यवस्थापन चुनौतीका रूपमा देखिए पनि कम्पनीहरूले त्यसमा सुधार गरिरहेको मुरारकाको भनाइ छ।

उनका अनुसार सीमावर्ती सडक अवरोध, अन्तर्राष्ट्रिय आपूर्ति शृंखला तथा ढुवानीमा हुने ढिलाइका कारण कहिलेकाहीँ स्पेयर पार्ट्स उपलब्धतामा समस्या आउन सक्छ। तर गाडी बिक्रीपछि सेवा नपाउने अवस्था नरहेको उनले बताए।आगन्तुकको सुविधाका लागि यसपटक पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। भृकुटीमण्डपको विपरीततर्फ रहेको ब्लुप्याभिलियनलाई एक्स्पो अवधिभर पार्किङ स्थलका रूपमा प्रयोग गरिनेछ।त्यस्तै,खल्ती बाई आईएमईमार्फत डिजिटल टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ।युनियन पेबाट भुक्तानी गर्दा क्यासब्याक तथा विद्यार्थीका लागि विशेष छुटको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार नाइमा मोबिलिटी एक्स्पो केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा भित्रिँदै गरेका नयाँ अटोमोबाइल प्रविधि र भविष्यको मोबिलिटीबारे जानकारी दिने महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।