अर्थतन्त्र विस्तार गर्न सरकार र बैंकबीच सहकार्य अपरिहार्य : अर्थमन्त्री स्वर्णिम वाग्ले
अर्थमन्त्री–बैंकर छलफलमा ७४ खर्बको अर्थतन्त्र बनाउने लक्ष्य, लगानी र कर्जा विस्तारमा सहजीकरण गर्न सरकार प्रतिबद्ध।
वि.सं.२०८३ साउन २० बुधवार ०७:४९
shares

काठमाडौं,२० साउन ।अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारे।उनले बैंक तथा बैंकरहरूलाई आफ्नो क्षेत्रका नीतिगत र व्यावहारिक समस्या निर्धक्क रूपमा राख्न आग्रह गर्दै सरकारले इमानदारीपूर्वक समाधानका लागि पहल गर्ने बताए।
अर्थतन्त्र विस्तार गर्न आर्थिक राजकाजको दिशा परिवर्तन गरेका छौँ।अब अर्थतन्त्रको आकार ७४ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य छ। त्यसका लागि लगानी बढाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ। बैंकहरूले कसरी योगदान गर्न सक्छन्, खुला रूपमा सुझाव दिनुहोस्। सरकारले पनि आवश्यक सहजीकरण गर्न तयार छ, अर्थमन्त्री वाग्लेले भने।उनले बैंकहरूले अपेक्षाअनुसार कर्जा विस्तार गर्न नसक्नुको कारणबारे समेत जिज्ञासा राख्दै, सरकारका तर्फबाट गर्नुपर्ने काम भए खुलस्त रूपमा सुझाव दिन आग्रह गरे।कर्जा विस्तारमा के समस्या छ ? सरकारले सहजीकरण गर्नुपर्ने विषय छन् भने भन्नुहोस्, हामी आवश्यक पहल गर्छौँ, उनले भने।

अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले भोगिरहेका नीतिगत तथा व्यवहारिक कठिनाइहरूको एकीकृत सुझाव अर्थ मन्त्रालयमा पेस गर्न आग्रह गर्दै त्यसको समाधानका लागि आवश्यक पहल गरिने बताए।छलफलका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले मुलुकमा लगानीको वातावरण नभएको भन्ने धारणा पूर्ण रूपमा सही नभएको बताएका छन्।उनीहरूले बैंकिङ क्षेत्रमा केही पुराना नियामकीय व्यवस्थाका कारण चुनौती देखिए पनि ती समाधान गर्न सकिने प्रकृतिका रहेको धारणा राखे।जलविद्युत् क्षेत्रमा लगानीका लागि बैंकहरूबीच तीव्र प्रतिस्पर्धा रहेको उल्लेख गर्दै अन्य उत्पादनशील क्षेत्रमा पनि क्रमशः लगानीको माग बढ्ने संकेत देखिएको उनीहरूको भनाइ थियो।
बैंकरहरूले केही नीतिगत सहजीकरण सरकार र नेपाल राष्ट्र बैंकबाट तत्काल भए अर्थतन्त्र थप चलायमान बन्ने विश्वास व्यक्त गरे।नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढ्दो लगानीलाई थप सहज बनाउन सरकारको ध्यानाकर्षण गराए।उनले ठूला आयोजनाहरू समयमै सम्पन्न गर्नुपर्ने र साना तथा ठूला व्यवसायीको विश्वास जित्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिए।
सिटिजन्स इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले बैंकिङ क्षेत्रको वर्तमान सुस्ततालाई आर्थिक चक्रको सामान्य अवस्थाका रूपमा बुझ्नुपर्ने बताए।त्यस्तै, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बजारमा व्यवसायीको आत्मविश्वास घटेको भन्दै त्यसलाई पुनः स्थापित गर्न सरकार र नियामक निकायले विशेष पहल गर्नुपर्ने धारणा राखे।उनले बैंकहरूको कर्जा प्रवाह क्षमता बढाउन नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्नुपर्ने तथा सरकारले घोषणा गरेको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी (AMC) छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरे।
एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कर्जा विस्तार ग्रामीण क्षेत्र र विपन्न वर्गसम्म पुर्याउनुपर्नेमा जोड दिँदै सरकारले पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता औँल्याए।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नयाँ आर्थिक वर्षसँगै उद्योगी व्यवसायी लगानी विस्तार गर्न उत्साहित रहेको बताए।


















