आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने
मनसुनी वायु सक्रिय, मनसुनको न्यून चापीय रेखा तराई नजिक । बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन मौसम विभागको आग्रह।
वि.सं.२०८३ साउन २० बुधवार ०७:०९
shares

काठमाडौं, २० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भू भाग नजिक रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी र कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू भागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ। पहाडी भू भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू भागका एक दुई स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू भाग तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
विभागले सम्भावित विपद्का कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा विभागबाट जारी हुने पछिल्ला मौसम सूचनाहरू नियमित रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ।
















