अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध, राजमार्गमा यातायात प्रभावित
बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड पूर्ण तथा एकतर्फी अवरुद्ध, यात्रुलाई सतर्कता अपनाउन आग्रह
वि.सं.२०८३ असोज १५ बिहीवार ०८:५४
shares

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।
विवरणअनुसार मुख्य राजमार्गको एक सडकखण्ड बाढीका कारण असोज १० गते बिहान १०ः३० बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा आवागमन ठप्प रहने जनाइएको छ ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो खसेपछि आज बिहान ४ः२० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।त्यस्तै, असोज ८ गते दिउँसो ४ बजे आएको बाढीका कारण बेँसीसहर हुँदै खाङ्सार जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि असोज ९ गते साँझ ७ः४५ बजेदेखि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा असोज १० गते बिहान ५ः५० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।त्यसैगरी, बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका–४ घुमाउने भीरमा असोज १० गते साँझ ५ः५० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।लगातारको वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिम कायमै रहेकाले यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै आवागमन गर्न प्रहरीले आग्रह गरेको छ ।















