निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम तीव्र
बदर मत घटाउने लक्ष्यसहित घरदैलोमै नमूना मतपत्र अभ्यास, २९० कन्टेन्ट उत्पादकमाथि कारबाही प्रक्रिया अघि
वि.सं.२०८२ फागुन १० आइतवार ०८:३८
shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन आउन ११ दिन बाँकी रहँदा निर्वाचन आयोग ले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम तीव्र बनाएको छ। बदर मतको प्रतिशत घटाउने र निर्वाचनलाई सहभागितामूलक बनाउने उद्देश्यसहित आयोगले ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरेको जनाएको छ।
आयोगका अनुसार फागुन ३ देखि १७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा स्वयंसेवकहरू मतदाताको घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया, मताधिकारको महत्व र मतदान गर्ने तरिकाबारे जानकारी गराइरहेका छन्। कार्यक्रमको अनुगमनका लागि यसअघि तोकिएका स्थानीय सम्पर्क व्यक्तिलाई नै जिम्मेवारी दिइएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन हुनेगरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिमाथि निगरानी बढाइएको आयोगले उल्लेख गरेको छ। आयोगअन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र र सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा सक्रिय रहेको जनाइएको छ।
हानिकारक सूचना उत्पादन तथा प्रसारण गरेको आरोपमा २९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। ती उजुरीहरू नेपाल प्रहरीको साइबर ब्यूरो मा पठाइएको आयोगले जनाएको छ।
यस्तै, ११ वटालाई नेपाल दूरसञ्चार प्राधिकरण, ६५ वटालाई प्रेस काउन्सिल, नेपाल तथा एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको छ।
आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै बदर मत घटाउने लक्ष्य लिएको जनाएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा आयोगको सक्रियता थप बढ्ने संकेत देखिएको छ।
















