मन्त्रिपरिषद्को ९ महत्वपूर्ण निर्णय : एआईजीहरूको सरुवा, गोरखापत्रसहित विभिन्न निकायमा नयाँ नियुक्ति
शिक्षा र कमैया श्रमसम्बन्धी संशोधित नियमावली स्वीकृत, राष्ट्रिय सदाचार तथा विज्ञापन नीति–२०८३ पारित, विभिन्न विधेयक संसद्मा पेस गर्न अनुमति
वि.सं.२०८३ असार १८ बिहीवार १७:०९
shares

काठमाडौं, १८ असार ।सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रशासन, सुरक्षा, शिक्षा, सञ्चार तथा कानुनी क्षेत्रसँग सम्बन्धित ९ वटा महत्वपूर्ण निर्णय गरेको छ।सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गर्ने निर्णय गरेको छ।
बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ।त्यसैगरी, गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।मन्त्रिपरिषद्ले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ लाई पनि स्वीकृति दिएको छ।यस्तै, अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ। साथै, समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गतको अन्तर्राष्ट्रिय सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्ने निर्णय पनि सरकारले गरेको छ।यसैगरी मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति २०८३ र राष्ट्रिय विज्ञापननीति २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।

















