पत्रकार हिक्मतबहादुर रावल गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त
एभिन्युज, न्यूज २४, ग्यालेक्सी र बीबीसी नेपालीमा पत्रकारिता अनुभव बटुलेका रावललाई मन्त्रिपरिषद्को निर्णयबाट नेतृत्वको जिम्मेवारी
वि.सं.२०८३ असार १८ बिहीवार १८:१०
shares
तस्वीरः हिक्मत रावलको फेसवुक वाल वाट
काठमाडौं, १८ असार । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।उनका अनुसार सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले रावललाई गोरखापत्र संस्थानको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो।
यसअघि सूचना तथा सञ्चार मन्त्रालयले महाप्रबन्धक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १० जनाको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। सोही प्रक्रियाबाट छनोट भई रावल महाप्रबन्धकमा नियुक्त भएका हुन्।
कैलालीका स्थायी बासिन्दा रावल नेपाली पत्रकारिता क्षेत्रमा लामो अनुभव भएका सञ्चारकर्मी हुन्। उनले एभिन्युज टेलिभिजन, न्यूज २४ टेलिभिजन, ग्यालेक्सी टेलिभिजन तथा बीबीसी नेपाली सेवासँग आबद्ध भएर पत्रकारिता गरेका छन्। विशेषगरी एभिन्युज टेलिभिजनमा उनले लामो समय सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा कार्य गर्दै क्षेत्रीय तथा राष्ट्रिय मुद्दामा सक्रिय पत्रकारिताको अनुभव हासिल गरेका छन्।
रावलको नियुक्तिसँगै मुलुकको सबैभन्दा पुरानो सरकारी सञ्चार संस्था गोरखापत्र संस्थानले नयाँ नेतृत्व पाएको छ।

















