कुशासनको ‘सटर’ बन्द गर्ने रवि लामिछानेको उद्घोष
रास्वपाले जनतासँग पाँच वर्षको लिखित ‘कन्ट्र्याक्ट’ गरेको दाबी, विदेशमा रहेका मतदातालाई मतदानका लागि स्वदेश फर्किन आग्रह
वि.सं.२०८२ फागुन ६ बुधवार २१:२९
shares

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई कुशासन अन्त्य गर्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेको छ।
धनगढीमा आयोजित जनसभामा बोल्दै लामिछानेले देशमा व्याप्त कुशासन, बेथिति, बेरोजगारी र राजनीतिक विकृतिको “सटर” आगामी निर्वाचनबाट बन्द हुने दाबी गरे।उनले अब जनताले केवल भोट दिने होइन, नेतासँग पाँच वर्षको स्पष्ट ‘कन्ट्र्याक्ट’ गर्ने समय आएको बताए। रास्वपाले नेपालको इतिहासमै पहिलोपटक जनतासँग लिखित राजनीतिक प्रतिबद्धता गरेको उल्लेख गर्दै पाँच वर्षको स्थायी सरकार आवश्यक रहेको उनको भनाइ थियो।लामिछानेले वर्षौंदेखि जनताका मुद्दालाई घोषणापत्रमा मात्रै राखेर भोट बैंक बनाउने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिए। वाचा पूरा नगर्ने नेताले नै सजाय पाउनुपर्ने र जनताले सधैं पीडा भोग्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए।
उनले सिंहदरबारको संरचना मात्र नभई कार्यशैली र नियत परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। “सिंहदरबार बनाउने होइन, बदल्ने अभियानमा हामी आएका हौं,” उनले भने।भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीलाई लक्षित गर्दै उनले यसपटक देश परिवर्तनका लागि मतदान गर्न स्वदेश फर्किन आग्रह गरे।रास्वपाले जनताको अधिकारलाई चुनावी ‘माग’ होइन, राज्यको दायित्वका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
















