काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

लाल बकैया खोलाको बाढीले रौतहटमा हुलाकी राजमार्ग डुबायो, ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य स्थानीय

राजपुर नगरपालिका क्षेत्रमा सडकमाथि कम्मरसम्म पानी बगे पनि आवागमन जारी, सुरक्षा निकाय उच्च सतर्कतामा

715
shares

रौतहट २१ साउन । निरन्तरको वर्षापछि लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग डुबानमा परेको छ। सडकमाथि कम्मरसम्म पानी बगिरहे पनि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरू ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य भएका छन्।

राजपुर नगरपालिका अन्तर्गत फतुवा पुलको पश्चिमतर्फ रहेको सडक खण्डमा लाल बकैया खोलाको बाढीले उग्र रूप लिएपछि हुलाकी राजमार्ग जलमग्न भएको हो। तीव्र बहावका बीच पनि दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य उपचार तथा अत्यावश्यक कामका लागि सर्वसाधारणले जोखिम मोलेर यात्रा गरिरहेका छन्।

तराई–मधेसको महत्त्वपूर्ण यातायात सञ्जालका रूपमा रहेको हुलाकी राजमार्गको यो खण्ड रौतहटलाई छिमेकी जिल्ला तथा अन्य स्थानीय तहसँग जोड्ने प्रमुख मार्ग हो। यही सडक हुँदै दैनिक रूपमा सयौँ मोटरसाइकल, साना चारपांग्रे सवारी, एम्बुलेन्स तथा पैदल यात्रु आवतजावत गर्ने गर्छन्।

वर्षायाम सुरु भएसँगै यो सडक खण्ड प्रत्येक वर्ष डुबानमा पर्ने गरेको स्थानीयले बताएका छन्। वैकल्पिक सडक वा डाइभर्सनको व्यवस्था नहुँदा जोखिमपूर्ण यात्रा गर्नुबाहेक अर्को विकल्प नरहेको उनीहरूको भनाइ छ।

एक स्थानीय यात्रुले भने बजार जानुपर्छ, बिरामी पर्दा अस्पताल पुग्नुपर्छ। बाटो बन्द गरेर घरमै बस्न सकिँदैन। ज्यान जोखिममा भए पनि बाध्यताले यही बाटो प्रयोग गर्नुपरेको छ।बाढीको बहाव निरन्तर बढिरहेकाले हुलाकी राजमार्गको उक्त खण्डमा जुनसुकै बेला दुर्घटना हुन सक्ने जोखिम बढेको छ। विशेषगरी साना सवारी साधन बग्ने सम्भावना उच्च रहेको जनाइएको छ।

सम्भावित मानवीय क्षति रोक्न घटनास्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले सडक क्षेत्रमा निगरानी बढाएका छन्। पानीको सतह अझै बढेमा दुर्घटना रोक्न सडक पूर्ण रूपमा बन्द गरिने सुरक्षा स्रोतले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनका अनुसार वर्षा जारी रहेकाले नदीको जलस्तर अझै बढ्न सक्ने सम्भावना छ। प्रशासनले नदी आसपासका तटीय क्षेत्रका बासिन्दा तथा हुलाकी राजमार्ग प्रयोग गर्ने यात्रुलाई अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ।

स्थानीय बासिन्दाले प्रत्येक वर्ष दोहोरिने यो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले स्थायी संरचना निर्माण गर्नुपर्ने माग गरेका छन्। समयमै आवश्यक पूर्वाधार निर्माण नगरिए ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी उनीहरूले दिएका छन्।