कांग्रेसको १५औँ महाधिवेशन : आज उम्मेदवारी दर्ता हुँदै
सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन पारित भएसँगै नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढ्दै
वि.सं.२०८३ असोज २० मंगलवार ०९:३४
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदैछ ।सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्दसत्रले पारित गरेपछि उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया अघि बढ्न लागेको हो ।मतदाता नामावली प्रकाशन, नामावलीउपर दाबी–विरोध, दाबी–विरोधउपर जाँचबुझ तथा मतदाताको अन्तिम नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न भएको थियो ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।निर्वाचन समितिको कार्यतालिकाअनुसार अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तउपर दाबी–विरोधको समय तोकिएको छ । बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।त्यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।असोज २१ गते दिनभर उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । त्यसपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा रहेका स्थल तोकिएका छन् । बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि प्रज्ञा भवनमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चलाई मतदानस्थल तोकिएको छ । खुलामञ्चमै कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले पनि मतदान गर्ने व्यवस्था गरिएको छ ।















