सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका
फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफलमा मेयर चिरिबाबु महर्जनसँग भनाभन भएपछि बैठक बहिष्कार
वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:५५
shares

काठमाडौं, ५ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद आशिका तामाङ ले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना को अध्यक्षतामा शुक्रबार बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम बहिष्कार गरेकी छन्।
बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा व्यवस्थापन सुधारका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो।छलफलका क्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन ले महानगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भए पनि जनप्रतिनिधिमाथि अनावश्यक आरोप र मुद्दा लगाइने गरेको गुनासो गरे।उनले तथ्य बुझेर मात्रै धारणा बनाउन सांसदहरूलाई आग्रह समेत गरे।त्यसपछि सांसद तामाङ र मेयर महर्जनबीच भनाभन भएको थियो। विवाद बढ्दै गएपछि सञ्चारमन्त्री तिमिल्सिनाले दुवै पक्षलाई सम्झाउँदै बैठकको वातावरण शान्त बनाउन प्रयास गरेका थिए।तर, स्थिति सामान्य हुन नसकेपछि सांसद आशिका तामाङ रिसाउँदै बैठकबाट बाहिरिएकी हुन्।















