फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा
सडक दुर्घटनालाई ‘घटना’ होइन ‘कारण’बाट विश्लेषण गर्नुपर्नेमा जोड, सबै निकाय समेट्ने राष्ट्रिय संयन्त्र गठनको प्रस्ताव।
वि.सं.२०८३ असार २७ शनिवार ०९:१२
shares

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन तथा पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकाको सडक तथा फुटपाथ पूर्वाधार निर्माणमा पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका तथा फरक क्षमता भएका नागरिकको आवश्यकतालाई पर्याप्त प्राथमिकता नदिइएको बताए। थापाले सडक विस्तारका क्रममा फुटपाथलाई प्राथमिकतामा नराखिएको र निर्माण गरिएका फुटपाथ पनि सबै नागरिकका लागि सहज रूपमा प्रयोग गर्न मिल्ने गरी नबनाइएको उल्लेख गरे।उनले सडक दुर्घटनालाई घटना भएपछि मात्र विश्लेषण गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिँदै दुर्घटना किन हुन्छ भन्ने दृष्टिकोणबाट अध्ययन र योजना निर्माण गर्नुपर्ने बताए।उनले भने, हामीले सडक विस्तार गर्दा फुटपाथ बनाएनौँ। बनाइहाल्यौँ भने पनि साँघुरो बनायौँ। साँघुरो बनाएपछि पनि ज्येष्ठ नागरिक, बालबालिका वा फरक क्षमता भएका नागरिक सहज रूपमा हिँड्न सक्ने गरी निर्माण गर्न सकेनौँ।
थापाले काठमाडौंमा फुटपाथ विस्तार परियोजना २०७० सालदेखि एसियाली विकास बैंक (ADB) को सहयोगमा सुरु भए पनि फुटपाथको वास्तविक महत्व अझै पर्याप्त रूपमा बुझ्न नसकिएको बताए।उनले सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षित सडक पूर्वाधार निर्माण, वैज्ञानिक योजना तथा प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सबै सम्बन्धित निकायलाई एउटै छातामुनि ल्याउने अधिकारसम्पन्न राष्ट्रिय संयन्त्र आवश्यक भएको बताए।उनका अनुसार काठमाडौंमा सवारीसाधनको संख्या निरन्तर बढ्दै गए पनि पर्याप्त पार्किङ पूर्वाधार निर्माण हुन नसक्दा सर्वसाधारण तथा राइड-सेयरिङ सेवामा आबद्ध चालकहरू समेत दैनिक समस्यामा परिरहेका छन्।
सभापति थापाले सडक व्यवस्थापन,ट्राफिक सुरक्षा,फुटपाथ,पार्किङ तथा सडक दुर्घटना न्यूनीकरणका विषयमा सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्ने राष्ट्रियस्तरको अधिकारसम्पन्न संयन्त्र निर्माणतर्फ अब ठोस पहल गर्नुपर्ने आवश्यकता औँल्याए।















