अमेरिकामा अवैध आप्रवासीको संख्या ऐतिहासिक उच्चतामा
वि.सं.२०८२ भदौ ७ शनिवार ०७:४७
shares
वासिङ्टन, ७ भदौ । अमेरिकामा गैरकानुनी आप्रवासीको संख्या अहिलेसम्मकै उच्च स्तरमा पुगेको प्यू रिसर्च सेन्टरले जनाएको छ। संस्थाको अनुमान अनुसार सन् २०२३ मा यो संख्या १ करोड ४० लाख नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा अझ वृद्धि हो।
सन् २००७ मा अवैध आप्रवासीको संख्या करिब १ करोड २२ लाख थियो भने २०२३ मा त्यसभन्दा बढी पुगेको देखिन्छ। रिपोर्टअनुसार, करिब ६० लाख व्यक्तिहरूले विभिन्न कानुनी सुरक्षा पाए पनि पछिल्ला वर्षमा ती संरक्षण हटाइएका छन्।
जो बाइडेन प्रशासनले २०२४ को मध्यतिर सीमामा कडा प्रतिबन्ध लगाएपछि संख्यामा केही कमी आए पनि हालसम्म १.४ करोडभन्दा माथि रहेको अनुमान गरिएको छ। जनवरी २०२५ मा मात्र अमेरिकामा कानुनी–अवैध गरी ५.३ करोड आप्रवासी बसिरहेको तथ्यांक सार्वजनिक भएको छ।
मेक्सिकोपछि ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस र भारतका नागरिक ठूलो संख्यामा रहेका छन् भने भेनेजुएला, क्युबा, कोलम्बिया, युक्रेन र पेरुबाट आउनेको संख्या पछिल्ला दुई वर्षमा दोब्बर भएको छ। यसैबीच, अमेरिकी विदेश मन्त्रालयले ५५ मिलियनभन्दा बढी वैध भिसा भएका विदेशीहरूको विवरण समीक्षा गर्ने जनाएको छ। भिसा अवधि नाघ्ने, आपराधिक गतिविधि, सार्वजनिक सुरक्षामा खतरा वा आतंकवादी गतिविधिमा संलग्नता देखिएमा भिसा रद्द गरी निर्वासनको प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।


















