काठमाडौँ । भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी (Gen-Z) प्रदर्शनका क्रममा घाइते...

पुरा पढ्नुहाेस्

कुशे औंसी : आस्था, संस्कार र सन्तानसम्बन्धको दिन

1.77K
shares

काठमाडौँ– ७ भदाैं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले श्रद्धा र आस्थाका साथ मनाइरहेका छन्। यस दिन घरघरमा वर्षभर देवकार्य र पितृकार्यमा प्रयोग हुने पवित्र कुश भित्र्याइन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणले पूजा गरी उखेलेर पुर्‍याएको कुशलाई घरमा राख्दा परिवारमा कल्याण हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ।
धार्मिक मान्यताअनुसार, आज उखेलिएको कुश मात्र वर्षभर प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश त्यही दिन सीमित हुने मानिन्छ। कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने सनातन धर्मावलम्बीका लागि कुशलाई सृष्टिकर्ता ब्रह्मासँगै उत्पन्न भएको पवित्र वनस्पति मानिन्छ।

यसै दिनलाई ‘बाबुको मुख हेर्ने दिन’ पनि भनिन्छ। छोराछोरीले आफ्ना बुबालाई मनपर्ने मिठाई र भोजन खुवाई सम्मान प्रकट गर्ने चलन छ। बुबा परलोक भइसकेका सन्तानले भने गोकर्ण, वेत्रावती वा अन्य पवित्र तीर्थस्थलमा गई तर्पण, पिण्डदान र सिदादान गर्ने गर्दछन्।
काठमाडौँको उत्तरपूर्वी भेगमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने भएकाले यस दिनलाई गोकर्णे औँसी पनि भनिन्छ। त्यहाँ दिवङ्गत पितृको नाममा तर्पण गर्ने भक्तजनको ठूलो भीड लाग्छ। त्यस्तै रसुवा–नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेलाको विशेष वातावरण देखिन्छ।‘पितृदेवो भव’ भन्ने धर्म वचनअनुसार छोराछोरीले आज बुबाको सेवा वा तर्पण गरेर आशीर्वाद प्राप्त गर्दा दीर्घायु र सुख प्राप्त हुने जनविश्वास छ। बुबा जीवित रहे भोजन खुवाएर र दिवङ्गत भए तर्पण गरेर पितृ तृप्त पार्दा कूल स्थिर हुने र पुण्य प्राप्त हुने भनाइ छ।
शास्त्रीय विश्वासअनुसार यस दिन गरिएको सानो दानले पनि हजारौँ गुणा फल दिन्छ। तर दान सुपात्रमा मात्र दिनुपर्ने चेतावनी पनि धर्मग्रन्थमा उल्लेख छ, अन्यथा दान दिने र लिने दुवैलाई दोष लाग्ने मान्यता छ।
यसरी कुशे औँसी केवल धार्मिक अनुष्ठान मात्र नभई पितृप्रति कृतज्ञता प्रकट गर्ने, बुबासँगको सम्बन्ध पुनः स्मरण गर्ने र सन्तानलाई आफ्नो मूल–जरा सम्झाउने महत्वपूर्ण अवसरका रूपमा पनि स्थापित भएको छ।