काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

अबैध लागू औषधसहित १९ जना पक्राउ

1.87K
shares

काठमाडौं,  २४ बैशाख ।नेपाल प्रहरीले देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध कारोबारमा संलग्न रहेका १९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ५६ एम्पुल, फेनारगन १४ एम्पुल र नोर्फिन ९८ एम्पुल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने रामेछाप घर भएका ३८ वर्षीय सुमन तामाङ र गोकर्णेश्‍वर नगरपालिका-५ दक्षिणढोका बस्ने दोलखा घर भएका ३२ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.१४ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-४ आईतबारे बस्ने पथरीशनिश्चरे नगरपालिका-४ घर भएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १०  मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्पेन २० ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय एमन खापुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नोर्फिन २ सय ९६ एम्पुल, फेनारगन ३ सय ९६ एम्पुल, डाइजेपाम १ सय ९६ एम्पुल, ट्रामाडोल २ हजार ९ सय ५० ट्याब्लेट र नाइट्राभेट ३ हजार ५ सय ४० ट्याब्लेट सहित रौतहट मौलापुर नगरपालिका-९ बस्ने ३२ वर्षीय सुनिल पटेल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ५०२२ नम्बरको इभि गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरीबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ६ सय ३० ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ सुकौरा बस्ने ३५ वर्षीय सुनिल बम्जन र दोलखा भिमेश्वर नगरपालिका-८ बस्ने २५ वर्षीय बिजय थापा रहेका छन् । इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना.२६ प ३६७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २० वर्षीय सक्सेस बुढामगर र रूकुम पश्चिम चौरजहारी नगरपालिका-२ बस्ने २४ वर्षीय रमेश बुढाथोकी रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-८ नारायण कृष्ण टोल डेरा गरी बस्ने कचनकवल गाउँपालिका-७ घर भएका २६ वर्षीय खड्ग सिंह माझी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले माझीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

दाङ, राप्ती गाउँपालिका-१ भालुबाङ पुल्चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-२ बह्राखुट्टी बस्ने २० वर्षीया सरिता सार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे.१ ख ४३३२ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१० चौराहाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की लेखनाथ नगरपालिका-११ बस्ने ३२ वर्षीय सागर नेपाली र स्याङ्जा पुतलीबजार नगरपालिका-९ बस्ने २३ वर्षीय सुजित नेपाली रहेका   छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले ग.१६ प ५२४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-४ घर भएका २२ वर्षीय रमेश नाथ र गोदावरी नगरपालिका-५ बस्ने २३ वर्षीय पवन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको   हो ।

सुनसरी, धरान उपमहानगरपलिका-३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ७० ट्याब्लेट र मोबाइल १ थान सहित कैलाली घर भएका ३१ वर्षीय निखिल भन्ने बसन्त राजवंशीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर ३ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीय मनोज विकलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ८ सय ९२ ट्याब्लेट, नाइट्रोसन ७० ट्याब्लेट र मोबाइल १ थान सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.०१-०२-०५५ प ४६३४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।