भारतीय रेलका एसी डिब्बाबाट साढे चार वर्षमा १ करोड २७ लाख ओछ्यानका सामग्री चोरी
चोरीका कारण १०४.५१ करोड रुपैयाँभन्दा बढी नोक्सानी, तौलिया सबैभन्दा बढी हराउने वस्तु
वि.सं.२०८३ असार ३० मंगलवार ०८:५८
shares

नयाँ दिल्ली, ३० असार । भारतमा रेलका वातानुकूलित (एसी) डिब्बामा यात्रुका लागि उपलब्ध गराइने ओछ्यानका सामग्री (लिनन बेडरोल) ठूलो परिमाणमा चोरी हुने गरेको तथ्य सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसले सूचनाको हक (आरटीआई) मार्फत प्राप्त गरेको विवरणअनुसार जनवरी २०२२ देखि मे २०२६ सम्म भारतीय रेलका एसी डिब्बाबाट कम्तीमा १ करोड २७ लाख थान ओछ्यानका सामग्री चोरी भएका छन्।भारतीय रेल सञ्जालमा हरेक रात करिब ८ लाख एसी श्रेणीका यात्रुले बेडरोल सुविधा प्रयोग गर्ने गर्छन्। टिकटको मूल्यभित्रै समावेश हुने यस सुविधामा सामान्यतया दुईवटा तन्ना, एउटा कम्बल, एउटा सिरानी, सिरानीको खोल तथा एउटा सानो तौलिया उपलब्ध गराइन्छ।
प्रतिवेदनका अनुसार भारतीय रेलका सबै ६९ डिभिजनमध्ये ५४ डिभिजनबाट प्राप्त विवरणको विश्लेषण गर्दा अधिकांश सामग्री यात्रुहरूले नै चोरी गर्ने गरेको देखिएको छ। सन् २०२२ देखि २०२५ बीच यस्ता चोरीका घटनामा ५६ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।चोरीका कारण ओछ्यानका सामग्री आपूर्ति गर्ने ठेकेदारहरूले १०४.५१ करोड भारतीय रुपैयाँ बराबरको नोक्सानी व्यहोरेका छन्। कोच अटेन्डेन्टहरूका अनुसार हराएका सामग्रीको क्षतिपूर्ति धेरैजसो उनीहरूको तलबबाट असुल गरिने गरेको छ।
रेल मन्त्रालयका एक प्रवक्ताले यसलाई गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनका अनुसार चोरी नियन्त्रण गर्न तथा दोषीमाथि कारबाही गर्न प्रयास भइरहेको छ। हालसम्म कर्मचारीको मिलेमत्तो रहेको कुनै प्रमाण भने फेला नपरेको उनले स्पष्ट पारे।तथ्याङ्कअनुसार सात क्षेत्रअन्तर्गतका १० डिभिजनमा कुल चोरीको ६७ प्रतिशत घटना केन्द्रित छन्। तीमध्ये बीकानेर, जोधपुर, जयपुर, राँची, दिल्ली, मुम्बई, अहमदाबाद, सोनपुर, दानापुर र बिलासपुर प्रमुख छन्।
यद्यपि, दिल्ली डिभिजनले चोरीका घटनामा ७९ प्रतिशत कमी ल्याउन सफल भएको छ भने दक्षिण भारतका तिरुचिरापल्ली र पालक्काड डिभिजनमा यस अवधिमा कुनै पनि चोरी दर्ता भएको छैन।चोरी हुने सामग्रीमध्ये अनुहार पुछ्ने तौलिया सबैभन्दा बढी हराउने वस्तु बनेको छ। चार वर्षभन्दा बढी अवधिमा ४६ लाख ५४ हजार तौलिया चोरी भएका छन्। त्यसपछि ४१ लाख १३ हजार तन्ना, २३ लाख ५९ हजार सिरानीका खोल, १२ लाख ९५ हजार कम्बल र २ लाख ७६ हजार सिरानी चोरी भएको तथ्याङ्कमा उल्लेख छ।


















