सुनसरीमा दुई समुदायबीच झडप : प्रहरीको गोली लागेर एक युवकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
बोलबम यात्राका क्रममा विवाद चर्किँदा २२ जना घाइते, प्रहरीको हवाई फायरपछि अवस्था नियन्त्रणमा; प्रशासनद्वारा कडा सुरक्षा व्यवस्था
वि.सं.२०८३ साउन ११ सोमवार ०८:४६
shares

विराटनगर, साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए। सोही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भएको थियो। विवाद चर्किँदै गएपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।स्थिति नियन्त्रणबाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। दुवै पक्षबाट ढुंगामुढा, लाठी, बाँस तथा भालासहित आक्रमण भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरेको जनाएको छ।
झडपका क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।घटनामा नौ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।त्यसैगरी झडप नियन्त्रणका क्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना तथा सशस्त्र प्रहरीका पाँच जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।
घटनापछि बसेको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज, देवानगञ्ज बजार क्षेत्र तथा देवानगञ्ज गाउँपालिका–३ अन्तर्गतको देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।प्रशासनले कर्फ्यू अवधिभर ती क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।
















