भोटेकोशी बाढी : १ हजार ३४१ जनाको शव फेला, ४ हजार ६४ जना अझै सम्पर्कविहीन
९ हजार १५१ जनाको उद्धार, १ हजार ३७ जनाको शव व्यवस्थापन; २ हजार ४०४ जनाको DNA नमुना संकलन
वि.सं.२०८३ भदौ २१ आइतवार १०:३९
shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले भदौ २१ गते बिहान ७ः४० बजेसम्म सार्वजनिक गरेको खोज तथा उद्धारसम्बन्धी अपडेटअनुसार बाढी प्रभावित क्षेत्रमा अझै ४ हजार ६४ जना सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सुरक्षा तथा राहतसम्बन्धी कार्यका लागि ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ भने बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म ९ हजार १५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ३७९ जना पुरुष, २ हजार ७१८ जना महिला र ५४ जना नाबालक रहेका छन्।
प्रहरीको विवरणअनुसार हालसम्म ४ हजार ६४ जना सम्पर्कविहीन छन्।सम्पर्कविहीनमध्ये ३ हजार ४५८ जना स्वदेशी रहेका छन्। स्वदेशीतर्फ २ हजार ८६३ पुरुष र ५९५ महिला रहेका छन्।त्यस्तै, ६०६ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। विदेशी नागरिकमध्ये २६९ पुरुष, ३३२ महिला र ५ जना अन्य रहेका छन्। हालसम्म फेला परेका १ हजार ३४१ जनाको शवमध्ये ५२३ पुरुष र ३२५ महिला रहेका छन्। त्यस्तै ४९३ वटा आशंकित अंग फेला परेको प्रहरीको विवरणमा उल्लेख छ।फेला परेका शवमध्ये हालसम्म १ हजार ३७ जनाको शव व्यवस्थापन गरिएको छ भने ८२ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको छ।प्रहरीले बाढीपछि फेला परेका तथा उद्धारसम्बन्धी विवरण आफ्नो वेबसाइटमा अद्यावधिक गर्दै आएको छ। प्रहरीको अपडेटअनुसार १ हजार २९७ जनाको पहिचान हुन बाँकी रहेको विवरण सार्वजनिक गरिएको छ।
यता शवको पहिचान तथा आफन्तसँग मिलान गर्न DNA नमुना संकलनको कामसमेत भइरहेको छ।प्रहरीका अनुसार हालसम्म १ हजार २८६ जना मृतक र १ हजार ११८ जना मृतकका आफन्त गरी जम्मा २ हजार ४०४ जनाको DNA नमुना संकलन गरिएको छ।बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका तथा अन्य प्रभावित व्यक्तिका लागि सञ्चालन गरिएका होल्डिङ सेन्टरमा हालसम्म ३ हजार ९८ जना रहेको प्रहरीले जनाएको छ।खोज तथा उद्धारसँगै प्रहरीले प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। हालसम्म ११८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा ८२ हजार ३६१ जना सहभागी भएको प्रहरीको विवरणमा उल्लेख छ।
भोटेकोशी बाढीपछि बेपत्ता नागरिकको खोजी, शव फेला पार्ने तथा व्यवस्थापन गर्ने, घाइते तथा प्रभावितको उद्धार गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई सुरक्षाकर्मीले निरन्तरता दिइरहेका छन्।प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान अझै जारी रहेको छ।


















