बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ
६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धारले देशलाई आशा दिएको प्रधानमन्त्री शाहको भनाइ
वि.सं.२०८३ भदौ २१ आइतवार ०८:२२
shares

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गरेका छन्। उनले राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भने, तपाईँहरू एक्लो हुनुहुन्न, राज्य तपाईँको साथमा छ, सरकार तपाईँको साथमा छ।
बाढी प्रभावित नुवाकोटको विदुर-१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको घटनाले सिङ्गो देशलाई आशा दिएको प्रधानमन्त्रीले बताएका छन्।बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर-१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ, प्रधानमन्त्री शाहले भनेका छन्।उनका अनुसार यो घटनाले खोज तथा उद्धारको काममा राज्यका संयन्त्र अझै सक्रिय भएर लागिरहेको सन्देशसमेत दिएको छ।
सरकारले चन्द्रिका आमाको उमेर समूहका तथा त्यसभन्दा माथिल्लो उमेरका धेरै आमाबुबालाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानको समेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भाग्दै ज्यान जोगाउनुपरेको उनले बताएका छन्। जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको उल्लेख गर्दै उनले लौरो नटेकी दुई पाइला पनि सर्न नसक्ने अवस्थामा समेत आफ्ना सन्तान बचाउन ज्येष्ठ नागरिकमा असाधारण हिम्मत आएको बताएका छन्।
बाढीका कारण वृद्धाश्रममा बसिरहेका आमाबुबासमेत सुरक्षित स्थानतर्फ भाग्नुपरेको प्रधानमन्त्रीले बताएका छन्।बाढी आउनुअघिसम्म हजुर आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, नातिनातिनाहरू हात हल्लाउँदै विद्यालय गएको हेरिबस्नुहुन्थ्यो होला। उनीहरू आउने पर्खाइमा बाटोमा नजर लगाइरहनुहुन्थ्यो होला।चौतारीमा बसेर छिमेकीसँग वर्षौँदेखिका दुःखसुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकीसमेत बाढीले प्रभावित बनाएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
बाढीका कारण कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी र काँधमा हुर्काएका नातिनातिना बगेको हेर्न विवश हुनुपरेको तथा कतिपयले जीवनसाथी गुमाएर पूर्णतः एक्लो हुनुपरेको उनले बताएका छन्।नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जना आमाबुबालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा तथा १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।


















