असारको विद्युत् खपतमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने
नेपाल विद्युत् प्राधिकरणको स्पष्टिकरण– साउन १ अघिको विद्युत् खपतमा भ्याट नलाग्ने, असुल भएको रकम आगामी बिलमा मिलाइने
वि.सं.२०८३ साउन १२ मंगलवार ०९:०३
shares

काठमाडौं, १२ साउन । नेपाल विद्युत् प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी देखिएको अन्योल हटाउँदै साउन महिनामा विद्युत् महसुलसँगै असुल गरिएको भ्याट आगामी भदौ महिनाको बिलमा समायोजन गरिने जनाएको छ।
प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ग्राहकबाट असुल भइसकेको भ्याट रकम भदौ महिनाको विद्युत् महसुल बिलमा समायोजन गर्ने जानकारी दिएको हो।प्राधिकरणका अनुसार आर्थिक ऐन, २०६३ बमोजिम विद्युत् सेवामा भ्याट लाग्ने व्यवस्था रहेकाले नेपाल विद्युत् प्राधिकरण २०८३ साउन १ गतेदेखि भ्याटमा दर्ता भएको थियो। त्यसपछि जारी भएका मासिक विद्युत् महसुल बिलमा प्रचलित कानुनअनुसार भ्याट समावेश गरिएको थियो। तर, २०८३ असार ३२ गतेसम्मको विद्युत् खपतको बिल साउन १ गते वा त्यसपछि प्राप्त भएको अवस्थामा पनि साउन १ अघिको खपतमा भ्याट नलाग्ने प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार आर्थिक ऐन, २०८३ को अनुसूची–१, समूह–२ अन्तर्गत विद्युत् शक्ति आवश्यक वस्तुमा समावेश भएकाले साउन १ गतेअघिको विद्युत् खपतमा भ्याट लाग्दैन। यही व्यवस्थाअनुसार ग्राहकबाट असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको बिलमा स्वतः समायोजन गरिनेछ।प्राधिकरणले ग्राहकलाई यस विषयमा अन्योलमा नपर्न आग्रह गर्दै भ्याट समायोजन प्रक्रिया स्वतः लागू हुने जनाएको छ।




















