प्रतिनिधिसभाको बैठक आज बस्दै, पाँच महत्वपूर्ण विधेयक पेश हुने
नेपाल विशेष सेवा ऐनदेखि राहदानी (पहिलो संशोधन) विधेयकसम्मका प्रस्ताव आजको कार्यसूचीमा समावेश
वि.सं.२०८३ साउन २२ शुक्रवार ०७:३७
shares

काठमाडौं, २२ साउन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।बैठक अपराह्न १:०० बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने कार्यसूची रहेको छ। आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विधेयक र समितिको प्रतिवेदन प्रस्तुत हुनेछन्।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन, २०८३ पेश गर्ने कार्यसूची रहेको छ।त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक पेश गर्नेछिन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक पेश गर्ने कार्यसूची छ।यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।यसका साथै, ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा पेश गर्ने कार्यसूची पनि आजको बैठकमा समावेश गरिएको छ।



















