प्रतिनिधिसभा बैठक आज बस्दै, भूमिहीन र सुकुम्बासीको विषयमा जरुरी प्रस्तावमाथि छलफल हुने
दिउँसो १ बजे बस्ने बैठकमा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस हुने, भूमिहीन तथा सुकुम्बासीको पुनःस्थापना र लालपुर्जा वितरणसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिने।
वि.सं.२०८३ साउन १९ मंगलवार १०:०१
shares

काठमाडौं साउन १९ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दै छ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
उक्त प्रस्तावमा वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण र पुनःस्थापनाका लागि आवश्यक व्यवस्था गर्न, सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरिएको छ।प्रस्तावमा उचित क्षतिपूर्ति उपलब्ध गराउने, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउने तथा वास्तविक भूमिहीन र सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा वितरण गर्नुपर्ने विषय पनि समेटिएको छ।जरुरी सार्वजनिक महत्त्वको उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्ने कार्यसूची रहेको छ।















