फकल्याण्डसम्बन्धी ब्यानर प्रदर्शनपछि अर्जेन्टिना फिफाको कारबाहीमा पर्न सक्ने जोखिम
सेमिफाइनलपछि जियोभानी लो सेल्सोले ‘माल्भिनास अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर देखाएपछि फिफाको राजनीतिक सन्देशसम्बन्धी नियम उल्लङ्घनको प्रश्न उठ्यो।
वि.सं.२०८३ असार ३२ बिहीवार ०९:५७
shares

काठमाडौं, ३२ असार । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि राजनीतिक सन्देश बोकेको ब्यानर प्रदर्शन गरेका कारण अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सो र टोलीमाथि फिफाले कारबाही गर्न सक्ने सम्भावना देखिएको छ।
द एथलेटिकका अनुसार अमेरिकाको एटलान्टामा भएको खेलपछि लो सेल्सोलेमाल्भिनास अर्थात् फकल्याण्ड अर्जेन्टिनाकै होलेखिएको ब्यानर प्रदर्शन गरेका थिए। फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनासभन्ने गरेको छ।यो दक्षिण पश्चिम एटलान्टिक महासागरमा अवस्थित बेलायतको विदेशी भूभाग हो जसको सार्वभौमिकतालाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद रहँदै आएको छ।
लो सेल्सोले उक्त ब्यानर डिफेन्डर निकोलास ओटामेन्डीसँग मिलेर केहीबेर समातेका थिए भने त्यसपछि मैदानमै राखेका थिए।अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) र फिफाको नियमअनुसार खेलका क्रममा वा त्यससँग सम्बन्धित गतिविधिमा राजनीतिक, धार्मिक वा व्यक्तिगत सन्देश, नारा, झण्डा वा अन्य प्रतीक प्रदर्शन गर्न निषेध गरिएको छ। नियम उल्लङ्घन भएको ठहरिएमा सम्बन्धित खेलाडी, टोली वा राष्ट्रिय फुटबल संघमाथि प्रतियोगिता आयोजक वा फिफाले अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था रहेको छ।
फकल्याण्ड टापुको नियन्त्रणलाई लिएर सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच युद्ध भएको थियो। करिब दुई महिना चलेको उक्त युद्धमा बेलायत विजयी भएको थियो भने दुवै पक्षका सयौँ सैनिकले ज्यान गुमाएका थिए।यसैबीच अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समार्फत लो सेल्सोको समर्थन गर्दै फकल्याण्ड अर्जेन्टिनाकै हो। उनीहरूले ब्यानर स्टेडियममा लैजान रोक लगाए, तर त्यो हाम्रो रगत र हृदयमा छ भन्ने प्रतिक्रिया दिएकी छन्।
उता खेलमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले पराजित गरेर विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको थियो। इंग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता बनाए पनि अर्जेन्टिनाका एन्जो फर्नान्डेजले ८५औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। इन्जुरी समयमा कप्तान लियोनेल मेसीको उत्कृष्ट क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाएका थिए। अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।
–स्रोतः एएनआई

















