काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको गगन थापा नेतृत्वलाई आधिकारिकता

1.07K
shares

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत निर्वाचित गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको छ। पार्टी विधानअनुसार विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दै आयोगले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिएको हो।

आयोग उच्च स्रोतका अनुसार आज दिनभर बसेको निर्वाचन आयोगको बैठकले विधि, पद्धति, संविधान, ऐन र नियमको अध्ययन तथा विश्लेषणपछि थापा नेतृत्वलाई आधिकारिकता प्रदान गर्ने निर्णय गरेको हो। यससँगै सोहीअनुसार नेपाली कांग्रेसको विवरण आयोगको अभिलेखमा अद्यावधिक गरिनेछ।आधिकारिकता प्रदान गर्ने निर्णय सार्वजनिक भएपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले असन्तुष्टि जनाउँदै विरोध जनाएको छ। देउवा पक्षका केही नेताहरूले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। पूर्णबहादुर खड्काले प्रतिनिधि सभा निर्वाचनसमेत प्रभावित पार्ने खालको आन्दोलन गर्ने धम्की दिएका थिए।

यद्यपि निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने स्पष्ट पारेको छ। यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग संविधान, ऐन, कानून र नियमको सीमाभित्र रहेर मात्रै निर्णय गर्ने बताउँदै आएका थिए। उनले आयोगको संस्थागत परम्परा र निष्पक्षतामा कुनै सम्झौता नहुने दाबी गरेका थिए।उक्त विवाद समाधानका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर तथा आयोगका सचिवबीच छलफल भएको थियो। आयोगका आयुक्तहरू कडा सुरक्षाबीच कार्यालयबाट बाहिरिएपछि मात्रै थापा नेतृत्वलाई आधिकारिकता दिएको जानकारी बाहिरिएको थियो।

गगन थापा नेतृत्वलाई मान्यता दिएपछि देउवा समूहले विरोध प्रदर्शन र नाराबाजी गरेको छ भने थापा पक्षले निर्णयलाई स्वागत गर्दै खुशीयाली मनाएको छ। पृष्ठभूमिमा, ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित मागपत्र बुझाएका थिए। पार्टी विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ।तर संस्थापन पक्षले विशेष महाधिवेशन नडाकी पुस २६ देखि नियमित महाधिवेशन गर्ने घोषणा गरेको थियो, जुन आवश्यक प्रक्रिया पूरा नगरी सारिएको थियो। त्यसपछि तत्कालीन महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन सम्पन्न भई नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरिएको थियो।

निर्वाचन आयोगले सोही विधानसम्मत विशेष महाधिवेशनलाई आधार मानेर गगन थापा नेतृत्वलाई आधिकारिकता दिएको हो। यस निर्णयसँगै नेपाली कांग्रेसमा लामो समयदेखि कायम देउवा नेतृत्वको युग औपचारिक रूपमा समाप्त भएको छ।