गगन नेतृत्वलाई मान्यता मिलेपछि देउवा समूह बैठकमा
एकताका लागि सभापति थापाको अपील
वि.सं.२०८२ माघ ३ शनिवार ०९:४६
shares
फाइल तस्वीर
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा बस्दैछ।
देउवा पक्षले शुक्रबार बेलुका निर्वाचन आयोगको निर्णय सार्वजनिक भएलगत्तै बैठक बोलाएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
यसअघि निर्वाचन आयोगले निर्णय दिनुअघि नै देउवा पक्षका नेता तथा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई मान्यता नदिए देशैभर आन्दोलन गर्ने चेतावनी दिएका थिए। सौम्य स्वभावका नेताबाट आएको यस्तो धम्कीपूर्ण अभिव्यक्तिको राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको छ।
गगन थापा समूहले पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गरी नेतृत्व चयन गरेको दाबी गर्दै आएको छ। पुस २७ र २८ गतेका लागि बोलाइएको विशेष महाधिवेशन सहमतिमै अघि बढाउन भन्दै गगनकुमार थापा र विश्वप्रकाश शर्माले तत्कालीन सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाउनसमेत जोड दिएका थिए। सहमतिको प्रयासकै क्रममा दुई दिनका लागि तय गरिएको महाधिवेशन चार दिनसम्म लम्बिएको थियो।तर अन्तिम समयमा सहमति जुट्न नसक्दा तत्कालीन नेतृत्वले पुस ३० गते दिउँसो गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फर्मुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो।
यही विशेष महाधिवेशनलाई विधानसम्मत ठहर गर्दै निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएको हो। आयोगको निर्णयपछि सभापति थापाले पार्टीभित्रका सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन्। उनले कांग्रेसलाई सुदृढ र जीवन्त बनाउन आपसी मतभेदभन्दा माथि उठेर सहकार्य आवश्यक रहेको बताएका छन्।
















