जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको छैन : आयोगमा रमेश लेखकको प्रष्टोक्ति
वि.सं.२०८२ पुस १४ सोमवार १७:२२
shares

काठमाडौं, १४ पुस । जेनजी आन्दोलनको क्रममा सुरक्षा निकायलाई गोली चलाउने आदेश दिएको आरोप अस्वीकार गर्दै निवर्तमान गृहमन्त्री रमेश लेखकले आफूबाट कुनै पनि किसिमको बल प्रयोगसम्बन्धी आदेश नदिइएको स्पष्ट पारेका छन् । आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखकले गोली प्रहार, बल प्रयोग वा त्यससँग सम्बन्धित कुनै पनि लिखित वा मौखिक आदेश आफूले नदिएको दाबी गरे । उनका अनुसार यस्तो आदेश दिनुपर्ने न कानुनी व्यवस्था छ, न त त्यसको आवश्यकता नै थियो ।
मैले गोली चलाउनू भनेर आदेश दिएको छैन बल प्रयोग गर्नू भन्ने कुनै निर्देशन पनि दिएको छैन लेखकले भने, दिनुपर्ने कारण पनि छैन, कानुनले पनि त्यस्तो अधिकार दिएको छैन ।आन्दोलनको क्रममा उत्पन्न घटनाप्रति आफू अत्यन्तै मर्माहित भएको बताउँदै लेखकले पदीय मर्यादा र नैतिक जिम्मेवारीको आधारमा राजीनामा दिएको स्पष्ट पारे ।उनका अनुसार, बल प्रयोग कति गर्ने, कसरी गर्ने भन्ने निर्णय आफूले कहिल्यै नगरेको दाबी गरे । म अत्यन्तै पीडामा थिएँ, नैतिकताको आधारमा राजीनामा गरेको हुँ उनले भने, मैले कसरी कति बल प्रयोग गर्ने भन्ने निर्देशन दिएको छैन ।पत्रकार सम्मेलनमा लेखकले भावुक शैलीमा प्रश्न पनि उठाए के म कसैलाई मार भनेर आदेश दिन सक्छु ? उनले भने त्यस्तो गलत कर्म मबाट सम्भव छैन ।
जेनजी आन्दोलनका क्रममा भएको घटनालाई लिएर उठेका राजनीतिक र नैतिक प्रश्नहरूबीच लेखकको यो बयानलाई महत्वपूर्ण रूपमा हेरिएको छ । अब आयोगको निष्कर्षले घटनाको जिम्मेवारी र सत्यतथ्य कति स्पष्ट पार्छ भन्ने चासो बढेको छ ।












