एमाले ११औँ महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु
वि.सं.२०८२ पुस २ बुधवार ११:०६
shares

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मत खसाल्दै औपचारिक रूपमा मतदानको सुरुआत गरेका हुन्।
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि व्यवस्थापकीय कारणले करिब डेढ घण्टा ढिलो गरी प्रक्रिया अघि बढेको हो। मतदान स्थलमा देशभरबाट आएका प्रतिनिधिहरूको उल्लेख्य भीड देखिएको छ भने लाइनबद्ध रूपमा मतदान भइरहेको छ।
यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका तय भए पनि प्राविधिक समस्याका कारण प्रक्रिया आजका लागि सारिएको थियो। मङ्गलवार साँझसम्म मतदान हुने अपेक्षामा मतदाताहरू लाइनमै बसेका थिए तर राति ८ बजेपछि भोलिपल्ट मतदान हुने जानकारी दिँदै उनीहरूलाई फर्काइएको थियो।
महाधिवेशनमा सहभागी २ हजार २६३ प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदका लागि मताधिकार प्रयोग गर्नेछन्। अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। दुवै उम्मेदवार आफ्ना प्यानलसहित मैदानमा उत्रिएकाले मतदान स्थल आसपास चुनावी सरगर्मी बढेको छ।
मतदान सम्पन्न भएपछि तत्कालै मतगणना सुरु गरिने र नतिजा छिट्टै सार्वजनिक गरिने पार्टीले जनाएको छ। महाधिवेशनमार्फत पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी राजनीतिक रणनीतिलाई ध्यानमा राख्दै नयाँ नेतृत्व चयन गरिँदैछ।












