एमाले महाधिवेशनमा आज मतदान : नयाँ नेतृत्व छानिँदै
अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ
वि.सं.२०८२ पुस १ मंगलवार १०:१३
shares

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ । आज (मंगलबार) पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुँदैछ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशनस्थल भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान सञ्चालन हुनेछ । यसपटक एमालेले पहिलोपटक विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न लागेको हो, जसका लागि १०० वटा मेसिन ल्याइएकामा ८० वटा प्रत्यक्ष मतदानमा प्रयोग गरिने छन् । बाँकी २० वटामध्ये १० अभ्यासका लागि र १० अतिरिक्त रूपमा राखिएको आयोगले जनाएको छ ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सोमबार राति सार्वजनिक प्रारम्भिक उम्मेदवार सूचीअनुसार अध्यक्षमा दुई जनाबीच सीधा चुनावी भिडन्त तय भएको हो ।
महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन् । विद्युतीय प्रणालीका कारण एक जना प्रतिनिधिले मत हाल्न औसत २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । मतदान व्यवस्थापनको जिम्मा रामलक्ष्मण इनोभेसन प्रालिले लिएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार यसपटक १९ पदाधिकारी पदका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् । पाँच उपाध्यक्ष पदका लागि ११ जना प्रतिस्पर्धामा छन् भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे आमनेसामने भएका छन् ।
त्यस्तै, तीन उपमहासचिव पदका लागि सात जना र नौ सचिव पदका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । आजको मतदानपछि एमालेको आगामी नेतृत्वको दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ ।












