एमालेको ११औँ महाधिवेशन लम्बियो, मंगलबार मतदान हुने
वि.सं.२०८२ मंसिर २९ सोमवार ०९:५९
shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा लम्बिने भएको छ।निर्वाचनसम्बन्धी कार्यतालिका समयमा अघि बढ्न नसक्दा महाधिवेशनको अवधि थपिएको हो।
यसअघि एमालेले २७ मंसिरमा महाधिवेशन उद्घाटन गरी २९ मंसिरमै सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।तर निर्वाचन प्रक्रिया ढिलाइ भएपछि सो तालिका कार्यान्वयन हुन सकेन।एमाले निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाका अनुसार सार्वजनिक गरिएको नयाँ निर्वाचन कार्यतालिकाअनुसार मंगलबार मतदान हुने तय भएको छ। आयोगले आइतबार मतदाता नामावली प्रकाशन गरिसकेको भएपनि बाँकी महत्वपूर्ण प्रक्रिया सोमबार सम्पन्न गरिने जनाएको छ।
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। सोमबार बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध र सुधारको समय तोकिएको छ भने १० बजेसम्म दाबी विरोधमाथि छानबिन गरी निर्णय गरिनेछ।
आजकै कार्यतालिकामा मतदाता नामावलीसम्बन्धी दाबी विरोधको सूचना प्रकाशन, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारका लागि दरखास्त फाराम वितरण र दर्ता, प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, उजुरी संकलन तथा छानबिन, नाम फिर्ता लिने प्रक्रिया समावेश गरिएको छ।
निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार उम्मेदवारको अन्तिम नामावली आज बेलुका ६ बजे सार्वजनिक गरिनेछ। मतदान सम्पन्न भएपछि मतगणना, नतिजा घोषणा, प्रमाणपत्र वितरण र शपथग्रहणलगायतका कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ।













