काठमाण्डौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। करिब...

पुरा पढ्नुहाेस्

समानता र रूपान्तरणको मेरुदण्ड हो एआई : सञ्चारमन्त्री गुरुङ

1.14K
shares

काठमाडौँ,  १० साउन / सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चीनको सांघाईमा आयोजित विश्व कृत्रिम बुद्धिमत्ता (AI) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै, एआई (Artificial Intelligence) को पहुँचमा समानता, समावेशिता र न्यायपूर्ण प्रयोगको जोडदिनुभएको छ। उहाँले भन्नुभयो, नेपालका लागि एआई कुनै विलासिता होइन, बरु रूपान्तरण, समावेशिता र न्यायको साधन हो। टेलिमेडिसिनदेखि नागरिक एपमार्फत सेवा वितरणसम्म, एआईले दुर्गम क्षेत्रलाई समेत जोड्ने शक्ति राख्छ।

विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री पृथ्वीसुब्बा गुरुङले पारदर्शिता, समावेशिता, जबाफदेहिता र एआईको गैर-सैन्यीकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताउनु भयो।
सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले भन्नुभयो, एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ। हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौँ।
सम्बोधनका क्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव-केन्द्रित विकासका लागि एआई रहेको बताउनु भयो। उहाँले भन्नुभयो, “नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ। अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकताहरूसँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ।
एआईसम्बन्धी उक्त विश्व सम्मेलनमा मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै नेपालले रणनीति र अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयहरूमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशहरूमा नवप्रवर्तन हबहरू सुरु गर्ने, शासन, सार्वजनिक सेवा, विपद् प्रतिक्रिया, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको बताउनु भयो।
मन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभयो,  नेपालका लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि हाम्रो नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो। हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधहरूलाई नाघेर अगाडी बढ्न सकियोस् र प्रविधिले सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस्।
करिब एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा नीति निर्माताहरूको उक्त सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, एआईको क्रममा मानवता बिना प्रविधि अराजकता हो; नैतिकता बिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन गर्न पर्छ। नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँछ। हामी सबै राष्ट्रहरू — ठुला र साना — लाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौँ।एआईले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानव जातिको उत्थान गरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो साझा चुनौती हो।