काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

माघी महोत्सवमार्फत प्रधानमन्त्रीको एकता र पहिचानको सन्देश

819
shares

काठमाडौँ । थारू समुदायको प्रमुख सांस्कृतिक पर्व माघीको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित थारू राष्ट्रिय माघी महोत्सव राष्ट्रिय एकता, सांस्कृतिक पहिचान र सहअस्तित्वको सन्देशसँगै सम्पन्न भएको छ। महोत्सवमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी भई थारू समुदायका मौलिक कला, संस्कृति र परम्परालाई नजिकबाट अवलोकन गरिन्।

थारु कल्याणकारिणी सभा तथा विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न महोत्सव ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालन गरिएको थियो। कार्यक्रममा थारू समुदायको जीवनशैली, इतिहास र सांस्कृतिक धरोहर झल्काउने विविध झाँकी, नृत्य तथा प्रस्तुति प्रदर्शन गरिएका थिए।

प्रधानमन्त्री कार्कीले थारू समुदायले औलो र कठिन प्राकृतिक परिस्थितिसँग संघर्ष गर्दै तराईँलाई आवाद बनाएको योगदान स्मरण गराउँदै आफू र थारू समुदायबीचको आत्मीय सम्बन्ध पनि उजागर गरिन्। उनले आफ्नो बाल्यकाल थारू समुदायका साथीहरूसँग बितेको अनुभव साझा गर्दै माघी पर्व आफ्नो लागि पनि भावनात्मक र विशेष चाड भएको बताइन्।

उनले भनिन्, थारू भान्साको स्वाद, उनीहरूको श्रमशील जीवन र संस्कृतिले मलाई सधैँ नजिकबाट छोएको छ। त्यसैले माघी पर्व केवल थारू समुदायको मात्र नभई, मेरो व्यक्तिगत अनुभूतिसँग पनि जोडिएको पर्व हो।

प्रधानमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भए पनि यसको मूल आत्मा एकतामा रहेको उल्लेख गरिन्। विभिन्न समुदायले फरक–फरक नाम र शैलीमा पर्व मनाए पनि त्यसको मर्म समान रहेको बताउँदै उनले हामी विविध छौँ, तर एउटै छौँ; बहुल छौँ, तर सँगै छौँ” भन्ने सन्देश दिइन्।

उनका अनुसार, नेपाल विश्व मानचित्रमा एकता, सद्भाव र सहअस्तित्वको उदाहरणका रूपमा चिनिनु नै देशको मौलिक पहिचान र शक्ति हो। यही पहिचानलाई थप सुदृढ गर्दै आपसी विश्वास, सहकार्य र सद्भावमार्फत मुलुकलाई शान्ति, स्थायित्व र समृद्धिको मार्गतर्फ अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।

वर्तमान परिस्थितिमा सबै पक्ष अझ संयमित र एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री कार्कीले सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गरी समाजमा शान्ति, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो भूमिकाबाट सक्रिय योगदान दिन आह्वान गरिन्।

माघी महोत्सवले केवल पर्वको उत्सव मात्र होइन, सांस्कृतिक सम्मान, पहिचानको संरक्षण र राष्ट्रिय एकताको साझा भावलाई समेत मजबुत बनाएको सहभागीहरूको धारणा थियो।