सरकार–जेनजी सम्झौतामाथि ओलीको आरोप : जनादेशबाहिरको नाटक
पार्टीको आगामी ११औँ महाधिवेशनमा सहमति भए वा प्रतिनिधिहरुले चाहे आफू पुनः अध्यक्ष बन्न तयार रहेको बताए
वि.सं.२०८२ मंसिर २५ बिहीवार १९:४९
shares
फाइल तस्वीर
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल सरकार र जेनजीका प्रतिनिधिबीच भएको बुधबारको सम्झौताप्रति तीव्र आपत्ति जनाउँदै त्यसलाई कलाबिहीननाटकको संज्ञा दिएका छन्।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उनले सरकारले यस्तो सम्झौता गर्ने म्याण्डेट नै प्राप्त नगरिएको दाबी गरे।सरकारको क्षमतामाथि प्रश्न उठाउँदै ओलीले भने, यो सरकार नागपञ्चमीमा घरमा कसैले गोबरले टाँसिदिएको नाग जस्तै हो,न चल्ने न टल्ने।सम्झौतामा विघटित संसदलाई जनसमर्थन गुमाएको संसद भनिएको उल्लेख गर्दै उनले त्यसलाई पूर्णतः असान्दर्भिक र अराष्ट्रिय सोचको उत्पादन भएको बताए।
आगामी फागुन २१ गतेपछि मुलुकको राजनीतिक दिशा फेरिने विश्वास व्यक्त गर्दै उनले कांग्रेस र एमालेजस्ता दल अझै निर्णायक भूमिकामा रहिरहने टिप्पणी गरे।पार्टीको आगामी ११औँ महाधिवेशनमा नेतृत्व चयनबारे बोल्दै ओलीले सहमति भए वा प्रतिनिधिहरुले चाहे आफू पुनः अध्यक्ष बन्न तयार रहेको बताए।पुस्तान्तरण क्रमिक रुपमा हुन्छ तर कुनै दबाबमा हुँदैन उनले स्पष्ट पारे।सल्लाघारीमा हुने उद्घाटन कार्यक्रममा सहभागिताका लागि आलोचकलाई पनि आमन्त्रण गर्दै उनले एमालेको जनाधार हेर्न आग्रह गरे।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग हालै भएको भेटमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिँदै उनले अदालतका निर्णय असन्तोषजनक लागे पनि मान्ने परम्परा एमालेले कायम राखेको बताए।भदौ २३–२४ को आन्दोलनबारे जाँचबुझ आयोगमा बयान दिनुपर्ने कुनै कानुनी आधार नभएको पनि उनले दोहोर्याए। परिस्थिति गम्भीर बनेमा शान्तिपूर्ण आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए।












