संसद् विघटनविरुद्ध एमालेको देशव्यापी आन्दोलन, सबै पालिकामा प्रदर्शन
वि.सं.२०८२ कात्तिक २५ मंगलवार १०:४७
shares
फाइल तस्वीर
काठमाडौं । नेकपा (एमाले) ले आज देशभरका सबै ७५३ वटै स्थानीय तहमा एकैपटक जनप्रदर्शन गर्दैछ। संसद् विघटनलाई प्रतिगामी कदम भन्दै यसको विरोधमा देशव्यापी जनपरिचालन अभियान चलाउने निर्णयअनुसार एमालेले वडा, पालिका, जिल्ला र केन्द्रसम्मका कार्यक्रम चरणबद्ध रूपमा सञ्चालन गरिरहेको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यसअघि २२ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा वडा–भेला सम्पन्न भइसकेका छन्। ती भेलामा भदौ २४ पछि उत्पन्न राजनीतिक घटनाक्रम, संसद् विघटनको संवैधानिक वैधता, र पार्टीको आगामी राजनीतिक यात्राबारे कार्यकर्ताहरूलाई अवगत गराइएको थियो।
गौतमका अनुसार आजको जनप्रदर्शनमा प्रत्येक स्थानीय तहले आफ्ना सन्दर्भ र भौगोलिक अवस्थाअनुसार फरक–फरक ढंगले कार्यक्रम आयोजना गरेका छन्। कतिपय पालिकाहरूमा मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन हुँदैछ भने कतिपय स्थानमा नारा–जुलुस र जनसभासहितको प्रदर्शन आयोजना गरिएको छ। प्रदर्शनका क्रममा सहभागीहरूले एमालेको झन्डा बोकेर नाराबाजी गर्ने र जनतालाई वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिने कार्यक्रम तय गरिएको छ।
पार्टीले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन विस्तृत निर्देशन पनि जारी गरेको छ। त्यसअनुसार हरेक सहभागीले पार्टीको झन्डा अनिवार्य रूपमा लिने, जनप्रदर्शन घना बस्ती भएका क्षेत्रमा सञ्चालन गर्ने, अन्त्यमा छोटो कोणसभा गरी स्थानीय नेताहरूले राजनीतिक सन्देश प्रवाह गर्ने व्यवस्था गरिएको छ। कोणसभामा संसद् विघटन, सरकारको कार्यशैली, र एमालेको आगामी राजनीतिक लक्ष्यबारे नेताहरूले जनतालाई सम्बोधन गर्नेछन्।
यस्तै, जनप्रदर्शनका दृश्य, तस्बिर र भिडियो हरेक सदस्यले सामाजिक सञ्जालमार्फत प्रचार गर्न, र स्थानीय सञ्चारमाध्यमहरूमा पठाउन पनि पार्टीले निर्देशन दिएको छ। आजको प्रदर्शनपछि एमालेले क्रमिक रूपमा आन्दोलनलाई जिल्लास्तरीय तहसम्म लैजाने तयारी गरेको छ। त्यस क्रममा कार्तिक २९ गते जिल्लास्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा हुने विशाल जनप्रदर्शन, र सोही क्रममा आगामी महाधिवेशनको प्रचार–प्रसार गर्ने कार्यक्रम समेत तय गरिएको एमालेले जनाएको छ।
गौतमका अनुसार, जनतालाई देशको राजनीतिक स्थिति र प्रतिगामी षड्यन्त्रबारे सचेत गराउने, पार्टी संगठनलाई सुदृढ बनाउने र आगामी महाधिवेशनका लागि उत्साह सिर्जना गर्ने यो अभियानको मुख्य उद्देश्य रहेको बताएको छ।

















