एमालेको केन्द्रीय समिति बैठक आजदेखि, भण्डारीको भूमिकामाथि पनि चर्को बहस हुने संकेत
वि.सं.२०८२ साउन ५ सोमवार ०९:३७
shares
काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्न लागेको यो बैठकले विधान संशोधनको तयारीसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः सक्रिय भूमिकालाई मुख्य एजेन्डा बनाउने संकेत देखिएको छ।
स्रोतका अनुसार बैठकले विशेषगरी आगामी विधान अधिवेशनको तयारीमा केन्द्रित हुनेछ। त्यससँगै पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र राजनीतिक पुनर्सक्रियता सम्बन्धी बहस पनि प्रमुख विषय बन्नेछ।
यसअघि बसेको सचिवालय बैठकले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको पदाधिकारी सीमा हटाउने प्रस्ताव पारित गरिसकेको छ। पोलिटब्युरोले त्यसलाई अनुमोदन गरेसँगै अब विधान अधिवेशनमार्फत अनुमोदनको तयारी गरिएको छ। यही सन्दर्भमा नेतृत्व पुस्तान्तरणको सम्भावित ढोका बन्द भएको भन्दै केही नेताहरू असन्तुष्ट देखिएका छन्।
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नविकरण अझै ‘पेन्डिङ’ अवस्थामा राखिएको जानकारीसँगै पार्टीभित्र नयाँ तरंग आएको छ।सदस्यता प्रक्रिया पूरा नभएको भन्दै अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन नदिएको आशंका गरिएको छ।यही पृष्ठभूमिमा हिजो च्यासलमा ओली–भण्डारीबीच गोप्य भेटवार्ता भएको थियो। दुबै नेताबीचको छलफलको विस्तृत विवरण बाहिर नआएको भए पनि, स्रोतहरूका अनुसार ओली अझै पनि भण्डारीको पुनर्सक्रियता प्रति अनिच्छुक देखिएका छन्।
आजको बैठकमा सदस्यता विवाद, विधान संशोधन, आगामी अधिवेशनको रणनीति, र भण्डारीको सम्भावित भूमिकालाई लिएर तीव्र छलफल हुने अपेक्षा गरिएको छ। बैठकमा विभिन्न धार देखिने सम्भावना बलियो रहेको र पार्टीभित्र आन्तरिक शक्ति सन्तुलनका लागि यो बैठक निर्णायक बन्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।










