काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ । नेतृत्व चयनसँग...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

देशभर वर्षा सक्रिय, बाढी पहिरोको जोखिम बढ्यो, सतर्क रहन आग्रह

4.52K
shares

काठमाडौं, १ साउन । देशभर मनसुनी प्रणालीको सक्रिय प्रभावका कारण आज अधिकांश भू-भागमा मौसम बदली रहेको छ। पश्चिमतर्फ मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा र पूर्वमा यसको स्थिति सामान्यभन्दा केही उत्तरतर्फ देखिएको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा, साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

दिउँसो अधिकांश ठाउँमा मौसम बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा पनि हुन सक्छ।उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ भने मधेश र तराईका विभिन्न स्थान—विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

रातिको समयमा पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। कोशी, मधेश तथा देशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी प्रदेशको तराईमा समेत हावाहुरीको सम्भावना रहेको उल्लेख गरिएको छ।भारी वर्षाको सम्भावनाका कारण कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरू उच्च जोखिममा छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने देखिएको छ। साथै, कोशी र मधेश प्रदेशका तराई क्षेत्रहरूमा पनि हावाहुरी चल्न सक्ने पूर्वानुमान छ।

यसैबीच, सम्भावित वर्षाका कारण बाढी, पहिरो, भू-क्षय, डुबान र गेग्रान बहावको जोखिम पनि बढेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। ठूला–सानानदी र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहेको छ।सामान्य जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक यातायात, हवाई सेवा र नदी आसपासका निर्माण कार्यमा असर पुग्न सक्ने भएकाले सबै नागरिक र सरोकारवालाहरुलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न मौसम विभागले अनुरोध गरेको छ।