काठमाडौं महानगरको नीति र बजेटका लागि नगरसभा सुरु हुँदै
वि.सं.२०८२ असार २९ आइतवार ०९:००
shares

काठमाडौं, असार २९ ।
काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँछ । आइतवार बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्न नगरपालिकाले नगरसभा आह्वान गरेको हो। नगर प्रमुख बालेन्द्र शाह (बालेन) नगरसभामा नीति तथा कार्यक्रमसहित बजेटको खाका सार्वजनिक गर्ने तयारीमा छन्।
नगरसभालाई विशेष महत्वसहित हेरिएको छ, किनभने यही माध्यमबाट महानगरले वर्षभरि गर्न चाहेको योजना र प्राथमिकता तय हुनेछ। यसपालिको बजेटमा महानगरले डिजिटल प्रविधिमा आधारित सेवा विस्तार, शहरी पूर्वाधार सुधार, हरियाली प्रवर्द्धन, शिक्षा–स्वास्थ्य क्षेत्रको सुदृढीकरण र संस्कृति संरक्षणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने अनुमान गरिएको छ।
विगत वर्षहरूमाझ नगरपालिकाले घोषणा गरेका केही योजनाहरू कार्यान्वयनमा कमजोर देखिएको भन्दै आलोचना भइरहेका बेला यस वर्षको नीति कार्यक्रम र बजेटले नयाँ आशा बोकेको छ। नगर प्रमुख शाहले नेतृत्व सम्हालेपछि काठमाडौंमा धेरै महत्वाकांक्षी योजना ल्याइए पनि अपेक्षित रूपमा ती कार्यान्वयन नभएको आलोचकहरू बताउँछन्।
नगरसभा सुरू हुनु अगाडि नै केही वडाध्यक्षहरू र जनप्रतिनिधिहरूले बजेट निर्माण प्रक्रियामा समावेशिता र पारदर्शिताको कमी भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले वडास्तरका आवश्यकता नसमेटिएको र केन्द्रीकृत ढंगले योजना बनाइएको गुनासो गरेका छन्।
यस नगरसभाबाट काठमाडौंबासीले सहरी जीवन सुधार गर्ने व्यवहारिक योजना र तीव्र कार्यान्वयनको प्रतिबद्धता अपेक्षा गरेका छन्। राजधानीको ट्राफिक समस्या, ढल तथा सडकको अवस्था, सार्वजनिक सेवा प्रवाह, फोहोरमैला व्यवस्थापनलगायत दीर्घकालीन समस्याहरू समाधान गर्न सक्षम नीति ल्याउने चुनौती महानगरका अगाडि छ। गत शुक्रवार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकाएका थिए ।आजका लागि कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका हुन्। आज महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट पनि तय गर्नेछ ।












